निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय पनि

 साउन २३, २०७९ सोमबार ९:२२:४० | वैद्यनाथ पाैडेल
unn.prixa.net

कुनै समय थियो सामुदायिक विद्यालय भन्ने बित्तिकै अभिभावक र विद्यार्थी नाक खुम्च्याउँथे । तर, पछिल्लो समय सामुदायिक विद्यालयले नतिजामा गरेको सुधारका कारण अहिले सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ ।

निजी विद्यालयबाटसमेत विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । जसले गर्दा सामुदायिक विद्यालयमासमेत प्रवेश परीक्षा लिन थालिएको छ । यस्तै उदाहरणीय सामुदायिक विद्यालयमध्ये एक हो विश्व निकेतन उच्च माध्यमिक विद्यालय । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको यो विद्यालयले विगतमा धेरै पटक आफूलाई अब्बल साबित गरिसकेको छ । 

अहिले कुपण्डोल बस्दै आउनु भएका बारा जिल्लाका अनिल कुमार यादव ३ दशमलव ४५ जीपीए ल्याउनु भएकी आफ्नी बहिनीलाई विश्व निकेतनको विज्ञान संकायमा कक्षा ११ मा भर्ना गर्नका लागि फर्म भर्न आउनु भएको छ । बहिनीले यसै स्कुलबाट एसईई दिएको भए पनि नाम निकाल्न गाह्रो रहेको बताउनुहुन्छ यादव । 

बहिनीलाई विश्व निकेतनमा फर्म गराउँदै गर्नु भएका यादव भन्नुहुन्छ, ‘पढाइको गुणस्तर तथा गाइडेन्स र रिजल्ट पनि राम्रो दिनुहुन्छ । एक्स्ट्रा क्लासहरु लिने तथा कोर्स कभर नभए त्यसलाई पनि कभर गर्नेदेखि, व्यवस्थापन सबै कुरा राम्रो छ ।’ 

विगतको तुलनामा यस पटक एसईईमा नतिजा केही खस्किए पनि समग्र जीपीए भने राम्रो भएको तथा अब आउने दिनमा गुणस्तर कायम गर्न लागिपरेको बताउनुहुन्छ प्रधानाध्यापक हेरम्बराज कँडेल । उहाँ भन्नुहुन्छ, ‘२०७६ तथा २०७७ को नतिजा आफ्नो हात जगन्नाथ भएका कारण ९ हजारले ४ जीपीए ल्याएकोमा पनि हामीले हचुवाको भरमा नभइ वास्तविक मूल्याङ्कन गरेका थियौँ ।’

२ सय २७ जनाले एसईई दिएको विश्व निकेतनमा १७ जनाले ३ दशमलव ६ देखि ३ दशमलव ९ जीपीए ल्याएका छन् । ४० जनाले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याएका छन् । र अन्य सबैले २ जीपीएभन्दा माथि ल्याएका छन् । यसरी समग्र जीपीए राम्रो भएको बताउँदै प्रधानाध्यापक कँडेल भन्नुहुन्छ, ‘४ तथा ३ दशमलव ९५ जीपीए नआए पनि समग्र जीपीए भने राम्रो छ । यसलाई हामीले मिश्रित नतिजाको रुपमा लिएका छौँ ।’

विज्ञान, मानविकी, कानुन, व्यवस्थापन तथा शिक्षा संकायमा पढाइ हुने विश्व निकेतनमा गएको वर्ष कक्षा ११ मा ४ हजार ७ सय ५० विद्यार्थीले प्रवेश परीक्षा दिएकोमा १ हजार २ सय ३० विद्यार्थीले मात्र प्रवेश पाएका थिए । यस पटक भने विद्यालयमा कक्षा कोठाको अभावका कारण १ हजार १ सय विद्यार्थी लिने लक्ष्य रहेको छ । 

फर्म खोलेको ३ दिनमा झन्डै १ हजार ५ सयले फर्म भरिसकेको बताउँदै कँडेल भन्नुहुन्छ, ‘यसबाट हाम्रो शैक्षिक गुणस्तरका बारेमा विद्यार्थी तथा अभिभावकमा कस्तो प्रभाव छ भनेर बुझ्न सकिन्छ । अर्को कुरा बोर्डिङ स्कुलमा पढेका धेरै विद्यार्थीले हाम्रो स्कुलमा ११ कक्षामा भर्नाका लागि फर्म गरेकामा धेरैले भर्ना नै पाउँदैनन् ।’

शिक्षक तथा प्रधानाध्यापक समूहमा मिलेर अगाडि बढेको, विद्यार्थीलाई परियोजना कार्य गराउने, क्षेत्र भ्रमण गराउने, प्रयोगात्मक विधिको प्रयोग, प्रदर्शन विधिको प्रयोग, कक्षा खाली नहुने र प्रधानाध्यापक तथा कोही पनि शिक्षक राजनीतिक पार्टीको तथा अन्य कामका नाममा स्कुल छोडेर जान नपाइने तथा पूरा समयमा पठनपाठनमा दिनुपर्ने तथा शिक्षकले आफ्ना छोराछोरी यसै विद्यालयमा पढाउनुपर्ने भएको हुनाले पनि विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको बताउनुहुन्छ कँडेल । 

सर्लाही घर भइ शान्तिनगर बस्दै आउनु भएका अमरेन्द्र प्रसाद सिन्हा ११ कक्षामा विज्ञान पढ्नका लागि पद्मोदय उच्च मावि पुतलीसडकमा फर्म भर्दै हुनुहुन्छ । विश्व निकेतनबाट एसईई गर्नु भएका सिन्हाले विश्व निकेतनमा पनि फर्म भर्नु भएको छ । 

विश्व निकेतनमा पढ्नका लागि नाम निस्कन्छ नै भन्ने यकिन नभएका कारण यहाँले यहाँ पनि फर्म भर्नु भएको हो । पद्मोदयमा फर्म भदै गरेका सिन्हा भन्नुहुन्छ, ‘पद्मोदय पनि राम्रो छ । एक जना दाइले यहाँ पनि फर्म भर्न भन्नुभयो त्यही भएर फर्म भर्दै गरेको ।’

बायोलोजी लिएर एमबीबीएस पढ्ने उद्देश्य भएको बताउने सिन्हाको एसईईमा भने राम्रो जीपीए आएन । एसईईमा राम्रो जीपीए नआउनुमा उहाँ पनि कोरोनाका कारण पठनपाठन राम्रो हुन नसक्नु बताउनुहुन्छ । २ दशमलव ९ जीपीए ल्याउनु भएका सिन्हालाई पहिले पद्मोदयमा पढेका दाइले शिक्षकहरु पनि राम्रो हुनुहुन्छ, पढाइ पनि राम्रो छ र ल्याबलगायत कलेजको संरचना पनि राम्रो भएका कारण उहाँले पद्मोदयमा पढ्ने मन बनाउनु भएको हो ।

सिन्हाले पढ्ने मन बनाउनु भए पनि पद्मोदयमा विज्ञान पढ्नका लागि प्रवेश परीक्षा पास गर्नुपर्छ । १५ अङ्कको गणित, ५ अङ्कको अङ्ग्रेजी तथा बायोलोजी, फिजिक्स र अन्य विषय गरेर ५० अङ्कको प्रवेश परीक्षा हुन्छ । 

कोरोनाका कारण जीपीए कम आएको बताउने सिन्हा नाम निस्कनेमा ढुक्क हुनुहुन्छ । बायोलोजी पढेर डाक्टर बन्ने इच्छा राख्नुभएको सिन्हाको बायोलोजी रुचिको विषय हो । घरमा पनि उहाँलाई यही विषय पढ्न हौसला दिइरहनु भएको छ । डाक्टर बन्नुको उद्देश्य पैसा कमाउने नभएर गाउँमा गएर गरिब, दुःखीको सेवा गर्ने बताउने सिन्हा भन्नुहुन्छ, ‘गाउँमा दुःख पाएका धेरै मान्छे छन् । पछि गाउँमा गएर उनीहरुको सेवा गर्ने हो ।’ 

विगतमा एसईईमा राम्रो नतिजा ल्याएको पद्मोदयको पनि यस पटक भने नतिजा सामान्य रह्यो । यसो हुनुमा कोरोना तथा विद्यालयले नै परीक्षा सञ्चालन गर्छ र खासै पढ्नु पर्दैन पास होइन्छ भन्ने विद्यार्थीको मनोविज्ञान रहेको प्रधानाध्यापक नारायणप्रसाद गौतम बताउनुहुन्छ । 

७१ जना विद्यार्थीले एसईई दिएकोमा २ जनाले ३ दशमलव ६७ ल्याए भने अरु २० जनाले त्योभन्दा कम र अरु औसत रहेको बताउँदै गौतम भन्नुहुन्छ, ‘समग्र नतिजा हेर्दा कस्तो देखिन्छ भने फेल नै भएको होइन । माथिल्लो अवस्थामा जान सक्ने जीपीए ल्याएर विद्यार्थी पास भए । यस वर्षका लागि यो रिजल्ट सन्तोजनक हो ।’

यसअघि उत्कृष्ट नतिजाका रुपमा ३ दशमलव ९६ जीपीए ल्याएको पद्मोदयले त्यस्तै नतिजा दोहोर्याउन शनिवार परीक्षा लिने, अतिरिक्त कक्षा सञ्चालन गर्ने र प्रथम त्रैमासिक परीक्षाको नतिजापछि विद्यार्थीमा देखिने कमजोरी हटाउन अतिरिक्त कक्षा सञ्चालन गर्न लागिरहेको छ । तर, प्रधानाध्यापक गौतम भने केवल नतिजामूखी नभएर गुणस्तरीय शिक्षामा विद्यालयले जोड दिने गरेको बताउँदै भन्नुहुन्छ, ‘पद्मोदयको नारा नै छ, पद्मोदयको इच्छा संस्कारयुक्त गुणस्तरीय शिक्षा ।’ 

कुल १ हजार २६ विद्यार्थी रहेको पद्मोदयमा बिहान र दिउँसोको सत्रमा गरेर ५८ जना शिक्षक रहेका छन् । उच्च माविमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा तथा कानुन विषयमासमेत विद्यालयमा पढाइ हुँदै आएको छ । 

सामुदायिक विद्यालयमा विद्यार्थीको अर्को आकर्षणको रुपमा रहेको विद्यालय हो बानेश्वरको रत्नराज्य स्कुल । यस पटक ३ सय २३ जना विद्यार्थीले जाँच दिएकोमा 'ए' प्लस ल्याउने २० जना, 'ए' ल्याउने २८ जना, 'बी' प्लस ल्याउने ७० जना, 'बी' ल्याउने ८२ जना साथै 'डी' प्लस ल्याउने विद्यार्थी पनि छन् । 

एसईईमा सबैभन्दा उत्कृष्ट नतिजा यस पटक आएको बताउँदै विद्यालयका प्रधानाध्यापक रामाशीष यादव भन्नुहुन्छ, ‘लामो समय कोरोनाले पढाइ डिस्टर्ब गरे पनि यस पटक राम्रो रिजल्ट आएको छ ।’ 

नतिजाका राम्रो ल्याउनका लागि सबै विषयको अतिरिक्त कक्षा राख्न खोजे पनि विविध कारणले सम्भव नभएर गणित, विज्ञान र अङ्ग्रेजीको मात्र कक्षा राख्न सकिएको बताउँदै यादव भन्नुहुन्छ, ‘नतिजा राम्रो आउनुमा सबै शिक्षकहरुको मेहनत, लगन र इमानदार प्रयास कारक रहेको छ ।’

झन्डै २ हजार २ सय विद्यार्थी रहेको रत्न राज्यमा व्यवस्थापन, मानविकी तथा शिक्षा संकायमा पढाइ हुन्छ । शिक्षक तथा अन्य सबै कर्मचारी गरेर १ सय २५ जना रहेको विद्यालयमा कक्षा ११ का लागि प्रवेश परीक्षा नभए पनि विद्यार्थी तथा अभिभावकसँग ल्याकत जाँच गरेर मात्र भर्ना गरिने प्रधानाध्यापक यादव बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सरकारी विद्यालय भएका कारण प्रवेश परीक्षाको सबै तयारी गरे पनि हामीले प्रवेश परीक्षा लिएनौँ । तर पनि हामी कहाँ कोटा सीमित छ । हामी ३ सय विद्यार्थी मात्र भर्ना लिन्छौँ ।’

अतिरिक्त कक्षा, कक्षा खाली हुन नदिनु र विद्यार्थी तथा शिक्षकलाई राम्रो व्यवहार गरेका कारण सफलता प्राप्त यादवको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘सरकारी विद्यालय भनेर नाक खुम्च्याउन दिएका छैनौँ ।’

काठमाण्डौ उपत्यका बाहिर पनि नारायणगढको नारायणी नमुना मावि, धरानको पब्लिक हाइ स्कुल, पोखराको अमरसिंह मावि, वीरेन्द्रनगरको जननमुना मावि, नुवाकोटको वीरेन्द्र मावि, विराटनगरको आदर्श मावि, बुटवलको कालीका मावि, मोरङको सुकुना मावि, नवलपुरको देवचुली मावि, पर्वतको भवानी विद्यापीठ लगायतका सामुदायिक विद्यालयहरुले एसईईमा राम्रो नतिजा ल्याएका छन् । राम्रो नतिजाका आधारमा मात्र नभएर विद्यार्थी चाप, विद्यार्थी भर्नाका लागि विद्यार्थी तथा अभिभावको रोजाइमा यी विद्यालयहरु पर्ने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • डिल्लीराम पाैडेल

    Aug. 8, 2022, 11:16 a.m.

    बाेर्डिङका टप टप विद्यार्थी ल्याएर बिचका कक्षाहरूमा भर्ना गर्न नपाउने व्यवस्था अाउनु पर्छ अनि थाहा हुन्छ कसरी ल्याए भन्ने कुरा,,,,,,,,,,,,,,सतही विश्लेषण,,,,,,,,,,,,

  •  0 Reply

तपाईको प्रतिक्रिया