गोसाइँकुण्ड मेला सुरु, झन्डै १५ हजारले मेला भर्ने अनुमान

 साउन २३, २०७९ सोमबार १०:४६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - जनैपूर्णिमाकाे अवसरमा आजदेखि गोसाइँकुण्ड मेला सुरु भएको छ । काेराेनाका कारण दुई वर्षसम्म हुन नसकेकाे मेला याे वर्ष भने सुरु भएकाे हाे । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार यसपटक मेलामा झन्डै १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ । 

मेला आउँदो शुक्रवारसम्म चल्ने छ । मेलामा तीर्थयात्री आउने क्रम केही दिन पहिलेदेखि नै सुरु भएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो । मेला व्यवस्थापनको सबै तयारी पूरा भएको उहाँले बताउनुभयो ।

यसपटक गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भञ्ज्याङसहितको साहसिक पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले स्वदेशी तथा विदेशी आउने गर्छन् । जैविक विविधताको अध्ययन र भूगर्भशास्त्रको अध्ययनका लागि समेत गोसाइँकुण्डमा पर्यटक आउने गरेका लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ । 

काठमाण्डौ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो । काठमाण्डौबाट धुन्चेसम्म गाडीमा यात्रा गर्न सकिन्छ । त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ । 

त्यसपछि काठमाण्डौ–सुन्दरीजल-हेलम्बु–ठाडेपाटी बाटो आउँछ । धेरै कम यात्रुहरूले गोसाइँकुण्डको बाटो प्रयाेग गर्ने गरेका छन् । गोसाइँबाबाकाे दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैँ भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् ।

पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँबाबा भगवान शिवले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गङ्गाजल अर्थात त्रिशूलधाराको उत्पति भइ त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।

रसुवाको पर्यटकीय तथा धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गङ्गादशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । 

अन्तिम अपडेट: साउन २५, २०७९

तपाईको प्रतिक्रिया