छोटो दूरीको हेटौँडा–काठमाण्डौ सडक ७५ करोड लागतमा फराकिलो बनाइँदै

 साउन २३, २०७९ सोमबार ११:४९:३९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको हेटौँडाबाट छोटो दूरीको मार्ग भएर काठमाण्डाै जाने सडककाे दुई खण्ड ७५ करोड रुपैयाँ लागतमा निर्माण हुने भएकाे छ । 

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाले कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई दुई खण्डमा गरेर ठेक्कामार्फत निर्माण गरिरहेकाे हाे । 

कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको दुई खण्डमा गरेर २० किलोमिटर सडक ७५ करोड लागतमा निर्माण हुँदै गरेको आयोजनाका इञ्जिनियर किरण रञ्जितले बताउनुभयो । आयोजनाले छुट्याएको मकवानपुर खण्डमा १२ दशमलव १५८ मिटर सडक खण्ड इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेदेखि निर्माणको काम धमाधम भइरहेको उहाँले जानकारी दिनुभयो ।

मकवानपुर खण्डमा २०७८ साल फागुन २५ गते सम्झौता गरेर काम भइरहेको हो । मकवानपुर खण्डमा ४३ करोड ४१ लाख १६ हजार रुपैयाँ लागतमा रमन पीआर त्रिवेणी जेभी मूलपानी काठमाण्डाैसँग सम्झौता गरेर काम सुरु गरिएको हो । यस सडक खण्ड २०८१ साल भदौ २४ गते सक्नेगरी सम्झौता गरिएको इञ्जिनियर रञ्जितले बताउनुभयो । दुवै सडक खण्डमा कटिङ गर्ने, नाली निर्माण गर्ने, १० मिटर फराकिलो निर्माण गर्ने, पिच गर्ने, वाल लगाउने लगायतका काम हुने उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया