दलितका नागरिकताकाे अपमानजनक नाम सच्याउन माग

 साउन २३, २०७९ सोमबार १५:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएका नाम सच्याउन माग गर्नुभएको छ । 

आज सोमवारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले विकट भेगका दलित समुदायका व्यक्तिहरूको नाम तत्कालीन प्रशासनले बिगारिदिएको भन्दै उनीहरूको नाम सच्याउन गृहमन्त्रीसँग माग गर्नुभयो । 

सांसद सुनारले यस्तो त्रुटिको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरूलाई पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस्तो पनि नागरिकता हुन्छ ? यस्तो पनि लेख्न मिल्छ ? ती हाकिमहरू यो देशमा एकथरि मान्छेलाई कति घृणा गर्न उद्यत हुँदा रहेछन् त ? कति अपमान गर्न उद्यत हुँदा रहेछन् त ? नागरिकता लिन जाँदा ती हाकिमहरूले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन् । अहिले पनि गर्दछन् । त्यो बेलामा पनि गरे होलान् । किन यस्तो नाम लेखेको किन भनेनन् ? दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ? अब यसको जिम्मेवार को हो ? यी नागरिकता सच्याउनलाई म गृहमन्त्रीसँग अनुरोध गर्दछु । तुरुन्त सच्याइनुपर्छ ।’

सांसद सुनारले नागरिकतामा गलत नाम लेखिदिएर दलित समुदायको स्वाभिमानमाथि अपमान भएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया