नेताकाे नजिककाे ठेकेदार भए पनि काममा अवराेध गर्नेलाई छाेड्दैनाैँ : मन्त्री राई

 साउन २३, २०७९ सोमबार १६:३७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकासको काममा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिनुभएको छ ।

आज सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकासको काममा बेथिति ल्याउनेहरू लाई तह लगाउने चेतावनी दिनुभएको हो । उहाँले मन्त्रालयले त्यस्ता ठेकेदारको खोजी गरिरहेकाले बिस्तारै ठिक लगाउने बताउनुभयो । 

मन्त्री राईले कुनै पनि नेताको नजिकको ठेकेदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गल्ती गर्ने ठेकेदारहरूलाई छोड्ने कुरा आउँदैन । कुनै पनि नेताको आडमा बसेर विकासमा बेथिति निम्त्याउनेलाई सरकारले छोड्दैन । ठेकेदारहरूले विभिन्न नेताको खोल ओडेर बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौँ । बिस्तारै ठिक पार्छाैँ ।’ 

उहाँले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री राईले सार्वजनिक गाडीमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताउनुभयो । उहाँले स्वचालित मूल्य प्रणालीअनुसार नै भाडा समायोजन भइरहेको दाबी गर्नुभयो । उहाँले कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाइका साथ कार्यान्वयन गर्न तयार रहेको बताउनुभयो । 

बैठकमा नेकपा एमालेकी सांसद विद्या भट्टराईले विकासका काममा तहगत समन्वयको अभाव रहेको बताउनुभयो । उहाँले तीनै तहमा आफ्नो क्षेत्राधिकार छैन भनेर पन्छिन सङ्घीयताले सजिलो भएको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सङ्घीयता आएसँगै पालिकाले डोजर आतङ्क मच्चाएका कारण सडकमा ठूलो समस्या भइरहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया