काठमाण्डौमा कलेजका विद्यार्थी लक्षित ट्राफिक जाँच, एकै दिन १ सय १८ जना कारबाहीमा

 साउन ३०, २०७९ सोमबार १८:३०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहान कलेजका विद्यार्थी लक्षित ट्राफिक जाँच अभियान चलाएको छ । जाँचमा सवारी चालक अनुमति पत्र नभएका ६१ जना, सवारी दर्ता किताब नभएका ३९ जना र एउटै सवारी साधनमा तीन जना चढेका सात जना विद्यार्थी कारबाहीमा परेका छन् । त्यस्तै हेल्मेट नलगाइ सवारी साधन चलाउने एक जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १० जना गरी एक सय १८ जना विद्यार्थी कारबाहीमा परेका हुन् । 

कारबाहीमा पर्ने विद्यार्थीहरूमा सबै दुई पाङ्ग्रे सवारी साधनका चालक रहेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको गएको वर्षको तथ्याङ्क हेर्ने हो भने काठमाण्डौ उपत्यकाभित्र १० हजार सात सय ३३ वटा सवारी साधन दुर्घटना भएका छन् । जसमध्ये आठ हजार तीन सय ६४ वटा दुई पाङ्ग्रे सवारी साधन रहेका छन् । सवारी दुर्घटनामा परि एक सय ९१ जनाको ज्यान जाँदा दुई पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै एक सय १७ जनाको ज्यान गएको छ । जसमध्ये ५८ जना पैदल यात्रीको समेत सवारी दुर्घटनामा परेर ज्यान भएको छ ।

यस्तै उमेर समूहका आधारमा हेर्ने हो भने १७ देखि ३५ वर्षसम्मका दुई पाङ्ग्रे सवारी साधन प्रयोगकर्ता रहेका छन् । यसरी सबैभन्दा धेरै दुर्घटनामा पर्नेमा दुई पाङ्ग्रे सवारी साधन देखिएकोले दुर्घटना कम गर्नका लागी ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न सुरु गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया