पश्चिम सेती र सेती नदी–६ परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एनएचपीसीलाई

 भदौ ३, २०७९ शुक्रबार ६:४०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको सेती नदी (एसआर)-६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ ।

हिजो काठमाण्डौमा भएको कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले साउन २३ गते समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो ।

समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका सीईओ सुशील भट्ट र भारतका तर्फबाट एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार एनएचपीसीले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र र सेती नदी–६ जलविद्युत् परियोजनाको लागि ६ महिनाभित्र आवेदन गर्नुपर्नेछ ।

सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र तोकिएका विषयहरू समेत समेट्ने गरी विस्तृत परियोजना अध्ययन गरी अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेस गर्नुपर्ने उल्लेख छ । कार्यक्रममा प्रधानमन्त्री देउवाले पश्चिम सेती र सेती नदी–६ ले सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताउनुभएको छ । उहाँले ४० वर्षदेखि चर्चामा रहेको आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा परियोजना विकासका सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको र यो त्यसैको निरन्तरताको रूपमा रहेको पनि प्रधानमन्त्री देउवाको भनाइ छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु, वन तथा वातावरणमन्त्री प्रदीप यादव, सुदूरपश्चिम प्रदशेका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया