७२ जिल्लामा फैलियो डेंगी, अबको दुई महिना जोखिम झन् धेरै : जथाभाबी औषधि नखान विज्ञको आग्रह

 भदौ १७, २०७९ शुक्रबार ८:२२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डेंगीको संक्रमण ७२ जिल्लामा फैलिएकाे पुष्टि भएको छ । अझै दुई महिना डेंगीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगीको संक्रमण धेरै बढेको पाइएको थियो । यसपालि असोज महिना नलाग्दै डेंगीको संक्रमण फैलिरहेको छ । बेलैमा सचेत नभएमा आउँदो दुई महिनामा जोखिम झन् बढ्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगतको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो ।  उहाँका अनुसार अहिलेसम्म ३ हजार २ सय २७ जनामा डेंगी पुष्टि भएको छ । जिल्ला जिल्लाबाट नयाँ तथ्याङ्क आएकाले यो संख्या अझै बढ्ने उहाँले बताउनुभयो ।

सबैभन्दा धेरै वाग्मती प्रदेशमा डेंगी फैलिएको छ । यो प्रदेशका २ हजार १ सय ८ जनालाई डेंगी भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा ४ सय ७२, प्रदेश १ मा १ सय ९८, गण्डकी प्रदेशमा ८४, सुदूरपश्चिममा ७७, मधेस प्रदेशमा ५९ र कर्णाली प्रदेशमा २९ जनामा डेंगी देखिएको सरकारी तथ्याङ्क छ । तथ्याङ अनुसार १० जिल्लामा जोखिम धेरै छ । वाग्मती प्रदेशको ललितपुर जिल्लमा सबै धेरै संक्रमण फैलिएको छ । अहिलेसम्म ललितपुरका एक हजार एक सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै काठमाण्डौमा ५ सय ६५, रुपन्देहीमा ३ सय ९२, भक्तपुरमा ८९, तेह्रथुम र धादिङमा ७८,सिन्धुलीमा ६३, संखुवासभा ५७, गुल्मी ५२ र अर्घाखाँचीमा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

समुदायमा डेंगी फैलिरहेकाले घर परिवार र समुदाय सचेत हुनु पर्नेमा कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालको जोड छ । लामखुट्टेले फुल पार्ने र लार्भा हुर्कने वातावरण नबनाउन उहाँको आग्रह छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रम लगायत भाँडोमा लामोसम्म पानी जम्मा गरेर नराख्न उहाँको सुझाव छ । यस्तै, कोठामा सजाएर राखिएका फूलदानीमा पनि डेंगी सार्ने लामखुट्टेले फूल पार्ने हुँदा बेला बेला पानी फाल्न र सफा गरिरहन उहाँको आग्रह छ । यस्तै, गाडीका टायरमा जमेको पानीमा पनि लमखुट्टेले फूल पार्ने हुँदा जमेको पानी हटाउन सुझाव दिइएको छ । लामखुट्टे नियन्त्रण नै डेंगी रोकथाको मुख्य उपाय हो ।

यसैबीच, ज्वरो आउनासाथ र जिउ दुख्नासाथ धेरैले जथाभाबी औषधि खाने  गरेकाले त्यसो नगर्न पनि कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालको आग्रह छ । डेंगी भएका बेला दुखाइ कम गर्नका लागि खाइने बुफ्रिनलगायतका औषधिले स्वास्थ्यमा झनै असर पर्ने भएकाले स्वास्थ्यकर्मी र डाक्टरको सल्लाहमा मात्रै औषधि खान उहाँको सुझाव छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया