तीन वर्षमा बझाङबाट सुत्केरी हुन नसकेका ३३ जना महिलाको हवाई उद्धार

 भदौ २४, २०७९ शुक्रबार १४:१५:३१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - गएका तीन वर्षमा सुदूरपश्चिमका तीन पहाडी जिल्लाबाट ७५ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ । गर्भावस्थामा समस्यामा परेका, सुत्केरी हुन नसकेका र सुत्केरीपछि पनि जिल्लामा उपचार हुन नसक्ने अवस्थामा पुगेका महिलाहरुको उद्धार गरिएको हो । 

सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बैतडी, बाजुरा, अछाम, डडेलधुरा, दार्चुला र डोटीमा स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेका र सुत्केरी भएपछि जटिल अवस्था आएका महिलाको हेलिकप्टरबाट उद्धार गरिएको हाे । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत यस उद्धार कार्यले महिलाहरुलाई सघाउ पुगेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चनले भन्नुभयाे, ‘महिलाहरुका लागि भन्दै लागू भएको राष्ट्रपति उत्थान कार्यक्रममार्फत जिल्लाबाट महिलाहरुको उद्धार गरिएको छ ।’ यस्तै बाजुराबाट १९, अछामबाट २३, दार्चुलाबाट ३ जना, डोटीबाट २ र बैतडीबाट २ जना महिलाको उद्धार गरिएको छ । 

गएकाे असर असार १७ को राति ११ बजेतिर सुत्केरी बेथा लागेकी मनिषा भण्डारीलाई आफन्तले भोलिपल्ट बिहान मात्रै स्वास्थ्य चौकी पुर्याए । स्वास्थ्य केन्द्रले अवस्था जटिल भएको भन्दै अन्तै लैजान भन्यो । ‘पाँच घण्टा दूरीमा थियाे सदरमुकाम मार्तडी तर  निरन्तरको झरीका कारण बाटो पनि बन्द थियो । विकल्प नदेखेर हार खाइसकेको थिएँ, श्रीमती र बच्चा बचाउन सक्दिनँ कि भन्ने डर थियो,’ मनिषाका श्रीमान् नहकुल रोकायाले भन्नुभयाे, ‘तर धन्न बेलुका साढे ५ बजे कोल्टीबाट हेलिकप्टरमा सुर्खेत पठाउने व्यवस्था मिल्यो।’

त्यसपछि सुर्खेतमा रहेकाे कर्णाली प्रादेशिक अस्पतालमा शल्यक्रिया भएपछि आमा र बच्चा दुवैको ज्यान जोगियो ।  मनिषा त एउटा उदाहरण मात्रै हुन्, उनी जस्तै सुदूरपहाडका कयौँ महिलाहरुको दर्दनाक पीडा रहेको छ ।

बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नं. २ की गङ्गा ऐडीले सुत्केरी भइसकेपछि अवस्था जटिल हुँदा ज्यान नै गुमाउनु पर्यो । जेठ २४ गते जिल्ला अस्पताल बझाङमा बच्चा जन्माएकी ऐडीको पाठेघर नखुम्चिएपछि उहाँलाई जिल्ला अस्पतालले रेफर गरेको थियो । रेफर गरे लगत्तै उहाँलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरी कोहोलपुर मेडिकल कलेजमा पठाइयो । तर गङ्गाको अचेत अवस्थामा नै कोहोलपुर मेडिकल अस्पतालमा ज्यान गयाे । त्यसैगरी जिल्लाबाट सुत्केरी हुन नसेको तथा सुत्केरी भएपछि आउने जटिल अवस्थाका कारण पछिल्लो तीन आर्थिक वर्षमा ३३ जना महिलाको उद्धार गरिएको हो । 

‘जिल्ला भित्रै सुविधा सम्पन्न अस्पताल छैनन्। जिल्लामा नै सुविधा सम्पन्न अस्पताल बनाउने र विशेषज्ञ डाक्टरको सुविधा दिने प्रदेश सरकारले भनेकाे छ, तर अहिलेसम्म पनि जिल्ला अस्पतालका स्वास्थ्य सेवामा सुधार आउन सकेको छैन ।' साइपाल गाउँपालिकाका स्थानीय मिलन धामीले भन्नुभयाे ।

‘गाउँपालिकाभरि राम्रो स्वास्थ्य सुविधा छैन जिल्लाको दुर्गम पालिका भएका कारणले पनि स्वास्थ्य संस्थामा नै पुग्नका लागि एकैदिन पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । तर यहाँका धेरै जस्तो महिलाहरुको हेलिकप्टरमार्फत स्थानीय सरकारको पहल तथा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएकाे छ ।’ पहाडी जिल्लामा विभिन्न रोगका विशेषज्ञ डाक्टरको कोटा भए पनि डाक्टरहरु सेवा सुविधा कम भएको भन्दै आउन नमान्ने गरेको जिल्ला अस्पताल बझाङका प्रमुख डा. नवराज जोशीले बताउनुभयाे । 

पहाडी जिल्लामा धेरैजसो बस्तीबाट स्वास्थ्य संस्था पुग्नै घण्टौँ लाग्छ । अझ जिल्लाको साइपाल गाउँपालिकाबाट जिल्ला अस्पताल पुग्न मात्रै ४ दिनको यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । साइपाल गाउँपालिकामा सामान्य बिरामी हुँदा पनि उपचारका लागि जिल्ला अस्पतालमा तत्काल ल्याउनका लागि हेलिकप्टर प्रयोग गर्नु पर्ने बाध्यता रहेको साइपाल गाउँपालिका निवर्तमान अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयाे । गएको असार २ गते भिरबाट लडेर घाइते भएका साइपाल गाउँपालिकाका २ जनाको सिम्रिक एअरको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । सरकारले सर्वसुलभ स्वास्थ्य सेवाको लक्ष्य लिए पनि साइपालका स्थानीयहरु महँगाेमा उपचार गर्न बाध्य छन् ।

विकट क्षेत्रका बासिन्दाका लागि हेलिकप्टरबाट उद्धार कार्यक्रम प्रभावकारी भएको जिल्ला अस्पताल बझाङका डा. नवराज जोशी बताउनुहुन्छ । बिरामी भएकै ठाउँबाट उद्धार हुने भएकाले गर्भवती र सुत्केरीलाई हवाई उद्धारले धेरै सजिलो भएको उहाँले बताउनुभयाे । नजिकैका स्वास्थ्य संस्था वा जिल्ला अस्पतालमा उपचार हुन नसकेका गर्भवती र सुत्केरीलाई हवाई उद्धार गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. जोशीले बताउनुभयाे ।

‘गर्भवती र सुत्केरीलाई सक्दो छिटो उपचार चाहिन्छ, हवाई उद्धारबाट सुविधायुक्त अस्पतालमा लैजान पाउँदा सजिलो भइरहेको छ,’ उहाँले भन्नुभयाे, ‘हवाई उद्धार भएकै कारण ज्यान बचाउन सकिएको छ।’

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया