तनहुँ–१ रामचन्द्र पाैडेललाई छाेडिदिन्छु : कृष्णकुमार श्रेष्ठ

 असोज ३, २०७९ सोमबार १७:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताउनुभएको छ । २०७४ सालको प्रतिनिधि सभा चुनावमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसदसमेत रहनुभएका नेता श्रेष्ठले आउँदाे मङ्सिर ४ गते हुने निर्वाचनमा त्याे क्षेत्र कांग्रेस नेता पौडेललाई छोडिदिने बताउनुभएको हो । 

सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर सङ्घ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले गठबन्धनमा भागबन्डा मिलाउनुपर्ने कारणले गर्दा त्याे क्षेत्र आफूले छोड्नुपरेको बताउनुभयो । उहाँले आफू बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित भएकाे हुँ । तर अहिले गठबन्धनको कारणले, गठबन्धन र मेरो पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीको कारणले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छाेड्न तयार छु । तनहुँ १ नम्बर क्षेत्रकै कारणले मात्रै गठबन्धन नै भत्किन्छ या एकदमै ठूलो समस्या आउँछ भने म पार्टीले गरेको निर्देशन, पार्टीले गरेको निर्णय मान्न तयार छु ।’

नेता श्रेष्ठले देशको जुनसुकै निर्वाचन क्षेत्रमा पार्टीले टिकट दिए पनि आफूले चुनाव जित्ने आँट र साहस लिएर अगाडि बढेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर २, २०७९

तपाईको प्रतिक्रिया