इङ्ग्ल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा पाकिस्तानको कीर्तिमानी जित : इङ्ग्ल्यान्ड १० विकेटले पराजित

 असोज ७, २०७९ शुक्रबार ६:३३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्ल्यान्डसँगको दोस्रो टी–२० क्रिक्रेटमा घरेलु टोली पाकिस्तानले कीर्तिमानी जित निकालेको छ । गएराति भएको खेलमा पाकिस्तान १० विकेटले विजयी भयो ।

इङ्ग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा विना विकेटको क्षतिमा भेट्टाएको हो । पाकिस्तानका मोहम्मद रिजवान र बाबर अजामले अविजित २ सय ३ रनको साझेदारी गरे । कप्तान बाबर अजामले ६६ बलमा ५ छक्का र ११ चौकासहित १ सय १० रनको शतकीय पारी खेले ।

टी–२० मा यो उनको दोस्रो शतक हो । त्यस्तै रिजवानले ५१ बलमा ५ चौका र ४ छक्कासहित ८८ रनको अर्धशतकीय पारी खेले । कराचीमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली इङ्ग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । उसका कप्तान मोइन अलिले अविजित ५५ रनको अर्धशतकीय पारी खेले ।

पाकिस्तानका हरिस राउफ र शाहनवाज दहानीले समान २/२ तथा मोहम्मद नवाजले १ विकेट लिए । पाकिस्तानको टी–२० क्रिकेटमा १० विकेटको जित यो दोस्रो पटक हो । यसअघि टी–२० विश्व कपमा पाकिस्तानले भारतलाई हराएको थियो ।

टी–२० क्रिकेटमा कुनै पनि विकेट नगुमाइ पूरा भएको यो सर्वाधिक ठूलो लक्ष्य समेत हो । जितसँगै ७ खेलको टी–२० शृङ्खलामा एक/एकको बराबरी भएको छ । पहिलो खेलमा इङ्ग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो। इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो टी–२० खेल शुक्रवार हुनेछ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया