चुङ्बाको रिटायर्ड लाइफ : ‘वाइल्डलाइफ फोटोग्राफर’

 असोज १३, २०७९ बिहिबार ११:१९:२० | भाेजेन्द्र बस्नेत
unn.prixa.net

चुङ्बा दाइ, पर्यटकीय बजार लुक्लामा चर्चित नाम । लुक्लाबाट जहाजको टिकट लिन धेरैले खोज्ने व्यक्ति । यती एअरलाइन्स लुक्लाका स्टेशन म्यानेजर । पर्यटकीय बजार लुक्लाको स्तरीय होटल खुम्बु रिसोर्टका सञ्चालक । सामाजिक काममा पनि सक्रिय । यसैले लुक्ला पुग्ने धेरैले चुङ्बा शेर्पालाई खोज्थे । तर ६२ वर्षका चुङ्बाको परिचय बदलिएर हिजोआज वाइल्डलाइफ फोटोग्राफर बनेको छ । रिटायर्ड लाइफमा बदलिएको शेर्पाको नयाँ परिचय झनै सशक्त बन्दै गएको छ । 

रिटायर्ड लाइफ, पारिवारिक व्यवस्थापन र आर्थिकस्तर सबल । यस्तो समय धेरैले आराम, घुमघाम, तीर्थ–व्रत, भेटघाट, सामाजिक काम लगायतमा बिताउँछन् । केही राजनीतिमा सक्रिय हुन्छन् । पढ्ने, लेख्ने, अनुभव सुनाउने लगायतका काममा सहभागी हुने धेरै छन् । तर यस्तो बेला नयाँ काम सिकेर त्यो क्षेत्रमा राम्रो गर्छु भन्ने साहस भने कमैले गर्छन् । यही साहस गरेका शेर्पा नयाँ क्षेत्रमा झन्–झन् उत्साहित बन्दै जानुभएको छ । 

पर्यटन व्यवसायमा आबद्ध शेर्पा तीन छोरा र दुई छोरीलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाएपछि नयाँ सपना पूरा गर्न लागि पर्नुभएको छ । शेर्पा भन्नुहुन्छ, ‘मेरो सबै छोराछोरी सबल भएका छन्, मेरो जीवनयापनका लागि पुग्ने गरी कमाएँ भन्ने लागेर सोख पूरा गर्न हिँडेको हुँ, सोख भएकाले होला बुढेसकालको शरीरमा पनि ऊर्जा थपिँदै गएको छ ।’

अनि बने फोटोग्राफर

सोलुखुम्बुको चौँरीखर्कमा जन्मनुभएका शेर्पा हुर्कँदै गर्दा खुम्बुमा विदेशी पर्यटक जान थालिसकेका थिए । हिमाल चढ्ने तथा घुम्ने विदेशीसँग भेट भइरहन्थ्यो । विदेशीहरू क्यामेरा बोकेर फोटो खिच्दै हिँड्थे । चुङ्बालाई पनि विदेशीको जस्तै क्यामेरा बोकेर फोटो खिच्ने रहर जाग्यो तर त्यो पहुँच बाहिरको कुरा थियो । न त क्यामेरा किन्ने पैसा थियो न त घुम्ने फुर्सद । पारिवारिक व्यवस्थापनका लागि काम गर्नु थियो । काम गर्दा धेरै समय विमानस्थलमा बित्थ्यो । त्यसबेला पनि शेर्पाको साथमा क्यामेरा हुन्थ्यो । जहाज, पर्यटक, चराचुरुङ्गी लगायतको फोटो खिच्नुहुन्थ्यो । तर ध्यान काममै हुन्थ्यो । 

फोटो खिच्ने सपनालाई थाती राखेर उहाँले कामलाई प्राथमिकता दिनुभयो । काममा कटिबद्ध शेर्पा यती एअरलाइन्सको जागिरमा सबल बन्नुभयो भने होटल व्यवसाय पनि सफल भयो । जब तीन छोरी र दुई छोरा आफ्नै खुट्टामा उभिन सक्ने भए र आफूलाई बाँच्न पुग्ने सम्पत्ति जोडियो भन्ने लाग्यो अनि उहाँ क्यामेरा बोकेर सपना पूरा गर्न निस्कनुभयो । उहाँ भन्नुहुन्छ, ‘सानैदेखिको सपना पूरा गर्नका लागि निस्कँदा उत्साहित बनेको छु ।’ 

५७ वर्षको उमेरमा वाइल्डलाइफ फोटोग्राफी अर्थात् वन्यजन्तुको फोटो खिच्ने काम गर्छु भन्दा धेरैले जिब्रो टोक्थे । वन जङ्गलमा जानुपर्ने, कठिन भौगोलिक क्षेत्रमा जानुपर्ने, हिंस्रक जनावरबाट जोखिम हुने जस्ता डर थिए भने क्यामेरा चलाएर राम्रो फोटो खिच्न सिक्नु थियो । तर सपना पूरा गर्न निस्किएका शेर्पा यी सबै चुनौतीको सामना गर्न तयार हुनुभयो । उहाँले क्यानोनको फाइभ डी मार्क फोर, वनडीएक्स मार्क टु, क्यानोनको लेन्स ६०० एमएम, मार्क थ्री र सिग्मा ६० देखि ६ सय एमएम क्यामरा किन्नुभयो । तर क्यामेरा चलाउन सिक्नु थियो ।

नेपालमा यी क्यामेरा सिकाउने ठाउँ नभेटेपछि विदेशीलाई डलर तिरेर अनलाइनबाट सिक्नुभयो । शेर्पा भन्नुहुन्छ, ‘अमेरिकामा रहेका साथीभाइलाई रकम तिर्न लगाएर रातभरि अनलाइन कक्षा लिन्थेँ अनि दिनभर क्यामेरा बोकेर प्रयोगात्मकका लागि निस्कन्थेँ, महिनौँको कठिन परिश्रमपछि उत्कृष्ट फोटो खिच्ने सिप सिकेँ ।’

पाँच वर्षमै उत्कृष्ट फोटा

वन्यजन्तुको फोटो खिच्नु सजिलो छैन । जनावर बस्ने ठाउँसम्म पुग्नुपर्यो । जनावर भेट्नुपर्यो । फोटो खिच्न जनावरको पोज मिल्नु पर्यो । त्योबेला क्यामेरा तयारी हुनुपर्यो । प्रकाश लगायतका कुरा मिल्नुपर्यो । यी सबै कुराको संयोग मिलेपछि मात्रै जनावरको राम्रो फोटो कैद हुन्छ । त्यसैले वर्षाैँ प्रयास गरेकाहरूले पनि वन्यजन्तुका उत्कृष्ट फोटा खिच्न सकिरहेका हुँदैनन् । 

तर चुङ्बा शेर्पाले पाँच वर्षमै आफूले खिचेका फोटाबाट चर्चा कमाउनुभएको छ । उहाँले खिच्नुभएको बाघको सुन्दर तस्बिर नेपाल सरकारको सार्वजनिक कार्यक्रमको ब्यानरमा प्रयोग भएको छ । हिउँचितुवाको आकर्षक फोटो धेरै ठाउँमा प्रयोग भइरहेको छ ।

पछिल्लो समय उहाँले खिच्नुभएको जङ्गली याकको फोटो अहिले सर्वाधिक चर्चामा रहेको छ । यस्ता धेरै सुन्दर तस्बिर छन् जसले शेर्पाको परिश्रमको परिणाम देखाइरहेका छन् । धर्मकर्ममा विश्वास गर्ने शेर्पा भन्नुहुन्छ, ‘मेरो भाग्य मान्छु मैले गरेका धेरै प्रयासहरू सफल भएका छन्, मैले चाहेको जस्तै फोटो कैद भएको छ ।’

फोटो खिच्न हेलिकप्टर चार्टर्ड

पाँचवर्षको अवधिमा शेर्पा फोटो खिच्नकै लागि देशका विभिन्न जङ्गल तथा भिरपाखामा पुग्नुभएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन, शुक्लाफाँटा, बर्दिया, कोशीटप्पु, इलाम, हुम्ला लगायतका ठाउँमा पटक–पटक पुग्नुभयो । गाडी पुग्ने ठाउँमा उहाँ आफैँ गाडी चलाएर पुग्नुहुन्छ । हवाईजहाज पुग्ने ठाउँमा हवाईजहाजबाट जानुहुन्छ । तर सडक तथा हवाई यातयातको पहुँचबाट टाढा रहेको ठाउँमा पुग्न हेलिकप्टर नै चार्टर्ड गर्नुहुन्छ । 

जङ्गली याकको फोटो खिच्न उहाँले हवाईजहाज र हेलिकप्टर दुवै प्रयोग गर्नुभयो । काठमाण्डौबाट नेपालगञ्ज, त्यहाँबाट सिमिकोटसम्म जहाजमा गएपछि त्यहाँबाट हेलिकप्टरमा हुम्लाको ठाक्सी पुग्नुभयो । त्यहाँबाट गाडीमा लाप्चासम्म जानुभयो । सामान बोक्ने भरिया, गाइड लगायत टिम लिएर जङ्गली याक पाइने सम्भावित ठाउँमा पुग्नुभयो ।

१२ दिनको यो यात्रामा उहाँले जिन्दगीकै सुन्दर उपहार अर्थात् जङ्गली याकको तस्बिर प्राप्त गर्नुभयो । जङ्गली याकको उहाँले खिच्नुभएको जतिको उत्कृष्ट तस्बिर यसअघि कतै भेटिएको छैन । शेर्पा भन्नुहुन्छ, ‘१२ दिनमा लाखौँ खर्च भएको छ तर त्यो खर्चभन्दा धेरै मलाई सन्तुष्टि मिलेको छ । मेरो खर्च उठ्ने गरी यो फोटो कसैले किन्दैन भन्ने मलाई थाहा छ तर मैले यो मेरो सोख पूरा गर्नको लागि खिचेको हुँ ।’

जोखिमसँग जम्काभेट

हिंस्रक वन्यजन्तुको फोटो सजिलै खिचिँदैन । उनीहरूले आक्रमण गरेर ज्यानै पनि लिन सक्छन् । चुङ्बा शेर्पाले पनि थुप्रैपटक यस्तो जोखिम झेल्नुपरेको छ । जङ्गली याकको फोटो खिच्ने क्रममा उहाँलाई याकले आक्रमण गर्यो । सेकेन्ड भन्दा कम समयमा सुरक्षित ठाउँमा जान सकेको कारण बचेको उहाँ बताउनुहुन्छ । यस्तै बाघको फोटो खिच्दा पनि बाघले झम्टिएपछि उहाँ भागेर बच्नुभयो । बारम्बार जोखिम आइलाग्दा पनि सकुशल रहनु आफ्नो भाग्यले पनि साथ दिएको उहाँ बताउनुहुन्छ । 

उहाँ फोटो खिच्न जाँदा गाइड तथा आवश्यकता अनुसार पाल, जनावरले झट्ट नदेख्ने खालका कपडा, विद्युतका लागि सोलार सिस्टम, दुई–तीनवटा क्यामेरा, खानेकुरा लगायतका बन्दोबस्तीका सामग्री लिएर जानुहुन्छ । पर्यटन व्यवसायमा लामो अनुभव भएका शेर्पा हिमालतिर पदयात्रा गर्नेहरूले झैँ पूर्वतयारी र बन्दोबस्तीलाई अनिवार्य सर्त मान्नुहुन्छ । फोटो खिच्नकै लागि तान्जानियासम्म पुग्नुभएका शेर्पा जहाँ जाँदा पनि आफ्नो लक्ष्यलाई केन्द्रमा राख्नुहुन्छ । उहाँले तान्जानियामा लोपोन्मुख अवस्थामा रहेको सर्बल क्याटको उत्कृष्ट फोटो खिच्नुभएको छ । 

फोटो के गर्ने त ?

उहाँलाई फोटो बेच्ने इच्छा छैन । प्रदर्शनी गर्नु भएको छ र अझै रहर छ । सरकारी निकाय तथा सञ्चार माध्यमहरुलाई निःशुल्क उपलब्ध गराइरहनु भएको छ । अब खिच्ने फोटो पनि आफ्नो रहर पूरा गर्न तथा वाइल्डलाइफ फोटोग्राफी सम्बन्धी नयाँ पुस्तालाई उत्साहित बनाउन केन्द्रित रहने उहाँ बताउनुहुन्छ ।

नेपालमा वन्यजन्तुका फोटो बेचेर आम्दानी गर्ने व्यावसायिक कामको सम्भावना त तत्कालका लागि देख्नुभएको छैन तर यसबाट सन्तुष्टि मिल्ने उहाँको भनाइ छ । तर आफूले खिचेका जस्ता उत्कृष्ट फोटोको प्रचारप्रसार गर्न सकेमा नेपाल आउने वाइल्डलाइफ फोटोग्राफर पर्यटकको सङ्ख्या बढ्ने उहाँको विश्वास छ । 

‘रिटायर्ड लाइफ’मा वन्यजन्तुको फोटो खिच्न लागि परेका शेर्पाले उत्कृष्ट फोटो खिचिरहनुभएको छ । आम्दानी नभए पनि लाखौँको लगानी गरेर फोटो खिचिरहनुभएका शेर्पा यस्ता फोटाले वन्यजन्तुको संरक्षणसँगै पर्यटन व्यवसायमा पनि सहयोग पुग्ने अपेक्षा राख्नुहुन्छ । 

फोटो सौजन्य : चुङ्बा शेर्पा

अन्तिम अपडेट: बैशाख ११, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • Abinash

    Nov. 12, 2022, 2:12 p.m.

    I really love all picuter caputerd hope everyone can support and godbles you sir.

  •  0 Reply

तपाईको प्रतिक्रिया