दाताबाट आएको १२ करोड बजेट फिर्ता हुने अवस्थामा

 जेठ २३, २०७५ बुधबार १५:४२:७ | उपेन्द्र येक्तेन

पाँचथर – पाँचथरमा डेनमार्क सरकारले उन्नति समावेशी आर्थिक विकास मार्फत  प्रदान गरेको परियोजनाको १२ करोड रुपैयाँ फिर्ता हुने भएको छ ।

परियोजनाको कामहरु अपेक्षाकृत रुपमा अघि बढ्न नसकेपछि यो रकम फिर्ता हुने स्थितीमा पुगेको हो । पाँचथरको ग्रामिण भेगका कृषि उपजको प्रवद्र्धनमा जोड दिने उदेश्यले उन्नतिले जिल्ला प्राविधिक कार्यालयको प्रयासमा ४५ करोड २० लाख ५१ हजार रुपैयाँमा योजनाका कामहरु सम्झौता गरेको थियो ।

आर्थिक वर्ष ०७१/०७२ देखि सुरुभएको योजनाका कामहरु ०७५ असार १५ गतेसम्ममा सक्ने गरी एक पुलसहित ११ वटा सडक निर्माण र स्तरउन्नति लागि सम्झौता भएको थियो । योजनाको निर्माणको काम निर्माण व्यावसायी र उपभोक्ता समितिले जिम्मा लिएका थिए । 

जसमध्ये निर्माण व्यावसायीले जिम्मा लिएको अधिकांश कामहरु सम्पन्न नहुने भएपछि रकम फिर्ता हुन लागेको हो । निर्माण व्यावसायीले जिम्मा लिएको सातवटा सडक निर्माणको काममध्ये दुईवटा मात्र सम्झौता भएको समयवधिमै सम्पन्न हुने बताइएको छ ।

बाँकी पाँचवटाको काम निर्धारित समयमा ७५ प्रतिशत मात्र सकिने र यसबाट १२ करोड रकम फ्रिज हुने अवस्था रहेको जिल्ला प्राविधिक कार्यालय पाँचथरका प्रमुख जयराम श्रेष्ठले बताउनुभयो । उपभोक्ता समितिले जिम्मा लिएको सप्तमी सराँङडाँडा सडक र जोरपोखरी काहुले सडक मर्मतको काम भने सम्पन्न भएको छ ।

निर्माण व्यावसायीले जिम्मा लिएको एक्तीन मेमेङ सडकखण्ड–१, को ७० प्रतिशत र खण्ड–२ को ४० प्रतिशत काम भएको छ । यस्तै सुम्निमा चोक, रानिटार सडकको ६० प्रतिशत, चरिभञ्याङ ओयाम सडकको ४५ प्रतिशत काम सम्पन्न भएको छ ।

जोरपोखरी काहुले सडक मर्मतको ६० प्रतिशत, गुम्बाडाँडा पौवासारताप सडक निर्माणको ४० प्रतिशत र उतरे यासोक सडक निर्माणको उपभोतmा समिति मार्फतको २० प्रतिशत मात्र काम भएको छ ।

खेवाथाम खोवा सडक पुलको काम भने ९५ प्रतिशत भएको छ । अहिलेसम्म सम्पन्न भएको योजनाको काममा २० करोड ६३ लाख ८२ हजार रुपैयाँमात्र खर्च भएको बताइएको छ । 

यता दाताबाट आएको १२ करोड फिर्ता हुने अवस्थामा पुगेपछि जिल्लाका सरोकारवालाले भने योजनाको जिम्मा लिएर काम गर्न ढिलो गर्ने निर्माण व्यावसायीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

निर्माण व्यावसायीकै कारण रकम फ्रिज हुने अवस्थामा पुगेको भन्दै प्रतिवद्धता अनुसार काम नगर्ने व्यावसायीलाई ब्ल्याक लिस्टमा राखिने उन्नति प्रोजेक्ट पाँचथरका इञ्जिनियर नारायण केसीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया