गएरातिदेखि नै ठूलो वर्षा, आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका थोरै ठाउँ अत्यधिक वर्षाको अनुमान

 असोज १९, २०७९ बुधबार ६:५०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – देशका केही ठाउँमा ठूलो वर्षा भइरहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै ठूलो वर्षा भइरहेको छ ।

अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती, गण्डकी  र लुम्बिनी प्रदेशका केही ठाउँमा आज दिउँसो अति ठूलो वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसमविद्को आग्रह छ  ।

यस्तै, राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै ठाउँ अत्यधिक वर्षा हुने अनुमान रहेको मौमसविद् गंगा नगरकोटीले बताउनुभयो ।

अस्ति बेलुका पूर्वी क्षेत्रबाट सुरु भएको पानी पर्ने क्रम मध्यपश्चिम हुँदै पश्चिमी क्षेत्रमा पुग्दै छ । आज देशैभर बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताएका छन् ।

उहाँका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशमा अति ठूलो पानी पर्ने संभावना छ । लगातारको वर्षाका कारण खोला तथा नदीमा बाढी आउने र सडकहरु पनि बन्द हुन सक्ने मौसमविद्ले चेतावनी दिएका छन् ।

यस्तै, यस वर्षको दशैँ वर्षामय हुने भन्दै सतर्क रहन विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले टीका लगाउन जाँदा खहरे खोलानालाहरुमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

नेपालमा दक्षिण पश्चिम बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव परेको छ । त्यसैको असरले अत्यधिक वर्षा हुन लागेको हो । यसैबीच, राति झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुङ्गा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठान र आसपास क्षेत्रमा ठूलो वर्षा भएको छ ।

यो क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, आजदेखि आउँदो शनिवार तीन दिनसम्म पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्ने अनुमान छ । बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन आग्रह  गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया