बर्दियाको राजापुर नगरपालिकामा बाढी पस्दा ३ सयभन्दा बढी घर डुबानमा

 असोज २४, २०७९ सोमबार ८:४३:५४ | भावुक योगी
unn.prixa.net

बर्दिया - केही दिनदेखिको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतहले खतराकाे तह पार गरेको  छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा तीनदेखि निरन्तर वर्षा भएपछि नदीमा पानीको सतहले खतराको तह पार गरेको हो । कर्णाली नदीको जलस्तर बढेर गएराति नै खतराको तह पार गरेको छ ।

चिसापानीमा नदीको पानीको सतह १२ मिटरभन्दा माथि पुगेको छ । कर्णाली नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १ को दौलतपुर, चनौरा, भदालीपुर यसैगरी कैलालीको टीकापुर नगरपालिका क्षेत्रका नदी किनारका  समुदायलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेकाे छ ।  गएराति कर्णाली नदीकाे जलस्तर बढेर खतराको तह पार गरेपछि राति  झण्डै १ बजेतिर राजापुर नगरपालिकाका विभिन्न गाउँमा बाढी पसेको हो ।

राजापुर नगरपालिका वडा नम्बर १ का धेरैजसो गाउँ डुबानमा परेका छन् । कर्णाली नदीको बाढी गाउँमा पसेपछि राजापुर नगरपालिका-१ का झण्डै ३ सयभन्दा बढी घर डुबानमा परेको स्थानीय सञ्चारकर्मी लक्ष्मण ढुङ्गानाले जानकारी दिनुभयो ।

बाढी प्रभावित परिवारलाई सुरक्षित ठाउँमा राखिएको र उनीहरुलाई खाजा खानाको व्यवस्थापन गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो । वडा नम्बर १ का विभिन्न गाउँका धेरैजसो घरमा बाढी पसेको छ । वडा नम्बर ३ र ७ मा पनि बाढी पस्ने खतरा छ । आज बेलुकासम्म बर्दियामा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया