जाम हटाउन नागढुंगा र झ्याप्ले खोलामा गाडी तान्ने मेसिन

 असोज १५, २०७५ सोमबार ८:४४:४२ | उज्यालो सहकर्मी

कलंकी – नागढुंगा सडकखण्डमा दिनहुँ जाम हुन थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिग्रेको गाडी हटाउने दुई वटा र्‍याकर अर्थात गाडी तान्ने मेसिन सञ्चालनमा ल्याएको छ । गाडी बिग्रेर हुने ट्राफिक जाम हटाउन सडक विभागले काठमाडौंको नागढुंगा र धादिङको झ्याप्लेखोलामा दुई वटार्‍याकरको व्यवस्था गरेको हो । 

र्‍याकर सञ्चालनमा आएपछि गाडी बिग्रेर हुने कलंकी–नागढुङ्गा–धार्केसम्मको जाम तत्काल हट्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिनुभयो । दसैँमा गाडीको चाप बढ्ने भएकाले मालवाहक ट्रकलाई व्यवस्थित गरिने पनि उहाँले बताउनुभयो । दैनिक ५ देखि ७ हजार यात्रु आवातजावत भइरहेको कलंकी नागढुंगा सडकमा धेरै जाम हुन थालेपछि मालवाहक ट्रक सञ्चालनमा समय तोकिने प्रमुख पन्तको भनाई छ । 

यसैबीच गाडी बिग्रेका कारण आज पनि कलंकीदेखि धादिङको धार्केसम्म गाडी जाममा परेका छन । आज बिहानै धादिङको खत्रीपौवामा गाडी बिग्रेका कारण गाडी जाममा परेका हुन । बिग्रेको गाडी व्यवस्थित गर्ने काम भइरहेकाले गाडी चापमा चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया