उम्मेदवारीबारे के भन्छन् पृथ्वीसुब्बा गुरुङ र देव गुरुङ ?

 असोज २४, २०७९ सोमबार २०:१३:१९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाललाई समृद्ध देश निर्माणको अभियानका लागि एमालेको उम्मेदवारी रहेको बताउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङमा हिजो आइतवार प्रतिनिधि सभाका लागि एमालेको तर्फबाट मनोनयन दर्ता गरेसँगै गुरुङले पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । एमोलेले अघि सारेको विकास, सुशासन र समृद्धिको अभियान अहिले ओझेलमा परेको उहाँले उल्लेख गर्नुभयो ।

‘हामीले सुरु गरेका विकास, सुशासन र समृद्धिको अभियानलाई फेरि पुनर्जीवित गरेर, अगाडि बढाएर अबको २२ वर्षभित्रमा नेपाललाई विकसित र समृद्ध देशको दाँजोमा पुर्‍याउने अभियानका लागि लमजुङमा एमालेको उम्मेदवारी हो । लमजुङबाट मेरो उम्मेदवारी हो’, नेता गुरुङले भन्नुभयो । 

राष्ट्रिय स्वाधीनताको झण्डा माथि उठाउनका लागि पनि एमालेको उम्मेदवारी जरुरी रहेको उहाँको जिकिर थियो । 

यस्तै पृथ्वीसुब्बा गुरुङसँग प्रतिस्पर्धा गर्न लाग्नुभएका नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले लमजुङको विकासको यात्रालाई अझ गतिशील बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । 

पत्रकारसँग कुरा गर्दै उहाँले विगत साढे चार वर्षको कार्यकालमा लमजुङमा जे जति काम, प्रगति भए, त्यो पहिलेभन्दा गुणात्मक नै रहेको जिकिर गर्नुभयो । ‘विगत साढे चार वर्षको कार्य प्रगति हेर्दा पहिलेभन्दा गुणात्मक प्रगति नै भएको छ । तर यहाँको आवश्यकताअनुसार पर्याप्त भएको छैन । विगतमा अधुरा, अपूरा रहेका काम पूरा गर्न र पूर्वाधार विकासलाई गुणात्मकस्तरमा वृद्धि गर्न जरुरी छ’, उहाँले भन्नुभयो ।
नेता गुरुङले जिल्लामा सडक सञ्जाल विस्तारका साथै सिचाइँ, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: चैत ४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया