वायु सेवा निगमले ७३ करोड रुपैयाँ किस्ता तिर्‍याे, ऋण ४२ अर्बभन्दा धेरै पुग्याे

 कात्तिक १, २०७९ मंगलबार १५:३४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायु सेवा निगमले पछिल्लो कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणको किस्ताबापतको ७३ करोड नाै लाख रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ता हिजो साेमवार तिरिएको निगमले जनाएको छ ।

कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजबापतको ५३ करोड र नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड गरी ७३ करोड नाै लाख रुपैयाँ रकम भुक्तानी गरिएको निगमले जानकारी दिएको छ । विगत तीन वर्षदेखि विविध कारणले सञ्चय कोष र नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न नसक्ने अवस्था रहेकोमा अहिले नियमित उडान र अकुपेन्सी दरमा सुधारबाट आम्दानी बढेपछि किस्ता तिर्न सकिएको निगमले जनाएको छ ।

निगमले गएको असारमा पनि किस्ताबापतको एक अर्ब ३५ करोड रुपैयाँ तिरेको थियो । नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्नका लागि सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैयाँको ऋण लिएको थियो । साथै न्यारोबडी खरिदका लागि सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिएको थियो । ३४ अर्ब रुपैयाँ ऋणको ब्याजसमेत गर्दा निगमको ऋण दायित्व ४२ अर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया