नवौँ राष्ट्रिय खेलकुद : महिला भलिबलमा एपीएफ र पुलिस फाइनलमा प्रवेश

 कात्तिक १, २०७९ मंगलबार १८:५०:१५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा चलिरहेकाे नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (मङ्गलवार) महिला भलिबलतर्फ सेमिफाइनलका खेल सकिएका छन् ।

आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले बाग्मती प्रदेशलाई १ का विरुद्ध ३ सेटमा हराउँदै विजयी भएको छ । पहिलो सेट बाग्मती प्रदेशले एपीएफलाई २५–२३ ले पराजित गरेकाेमा त्यसपछि लगातार तीन सेटमा एपीएफले बाग्मतीलाई २५–२३, २५–२२ र २५–१६ ले पराजित गरी फाइनल प्रवेश गरेको हो ।   

यसैगरी दोस्रो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१०, २५–१८ र २५–११ को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको जिल्ला भलिबल सङ्घ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

भोलि (बुधवार) नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच फाइनल खेल हुने छ भने तृतीय स्थानका लागि गण्डकी र बाग्मती प्रदेश खेल्ने भएका छन् ।

यसैबीच तेक्वान्दो प्रतियोगितातर्फ पनि खेल चलिरहेकाे आयोजकले जनाएको छ । बेनीको कालीपुलको बहुउद्देश्यीय कभर्ड हलमा तेक्वान्दो र खुलामञ्चमा महिला भलिबल भइरहेको छ ।   

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सात वटा प्रदेश र विभागीय टिम गरी १० वटा टिमको सहभागिता रहेको छ भने तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय र एनआरएनएसहित ११ वटा टिमले सहभागिता जनाएका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया