त्रिशूली जलविद्युत् कम्पनीको शेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन

 कात्तिक ६, २०७९ आइतबार १३:७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले नागरिकलाई निष्कासन गरेको शेयरबापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार शेयरधनीले आवेदन दिएका छन् । कम्पनीले शेयरबापतको रकम बुझाउन गएकाे ४ असोजदेखि आवेदन माग गरेको थियो ।

कम्पनीको शेयर बाँडफाँटमा शेयर पाइ प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना नागरिक शेयरधनीमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाएका हुन् । यसबाट १६ करोड १० लाख रुपैयाँ सङ्कलन भएको छ ।

साविकका शेयरधनी नागरिकबाट अङ्कित मूल्यको ९० प्रतिशतले हुनआउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ सङ्कलन गरिने  छ । आउँदाे १७ कात्तिक आवेदन दिने अन्तिम दिन हो । कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले अन्तिम अगावै आवेदन दिन शेयर धनीहरुलाई आग्रह गर्नुभयो ।

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा नागरिकका लागि ३७ लाख ५ हजार कित्ता(कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) शेयर निष्कासन गरी प्रति शेयर एक सय रुपैयाँ अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र सङ्कलन गरेको थियो । कम्पनीको शेयर बाँडफाँटमा शेयर पाइ प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना नागरिक शेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने छ ।

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत ब्याज दिनु पर्ने प्रावधान बमोजिम शेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा अहिले प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुनेछ ।

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सीडीएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो शेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन/आवेदन दिन सक्नेछन् । शेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा  आश्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लि. रहेको छ ।

कम्पनीले रसुवा र नुवाकोटमा  ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत्  प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक शेयर छ ।

कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, नागरिकको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत शेयर रहने छ ।

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको ब्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजार रुपैयाँसहित आयोजनाको कुल लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ। निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया