बीमा समिति 'नेपाल बीमा प्राधिकरण' मा रूपान्तरण

 कात्तिक २२, २०७९ मंगलबार १४:३३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  नेपाल बीमा समिति आज (मङ्गलवार) देखि औपचारिकरूपमा नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भएको छ । 

कुपण्डोलमा रहेको पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिकरूपमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर सुरुवात गर्नुभएको हो । नेपाल सरकारले ल्याएको नयाँ बीमा ऐन २०७९ आजदेखि कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण काम कारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । 

गएको भदौ अन्तिममा सङ्घीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको एक महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मङ्गलवारदेखि लागू भएसँगै बीमा समिति प्राधिकरणमा रूपान्तरण भएको प्राधिकरणका अध्यक्ष सिलवालले बताउनुभयो । बीमाको बजार, जोखिमको मात्रा र बीमा कारोबारका प्रवृत्तिहरू बढ्दै गएकाले अबको बीमा बजार बीमा ऐन २०४९ ले धान्ने बजार नभएको उहाँले बताउनुभयो । नयाँ बीमा ऐनले आर्थिक सुरक्षा गर्नको लागि धेरै नयाँ माध्यमहरू दिएको उहाँकाे भनाइ छ । 

अध्यक्ष सिलवालले सरकारलाई बीमाका विषयमा बीमा प्राधिकरणले मात्रै सल्लाह दिने गरेको बताउनुभयो । अब बीमा क्षेत्रको स्वायत्त निकाय प्राधिकरणबाट नै सिङ्गो बीमा क्षेत्रको नियमन गरिने उहाँले बताउनुभयो । 

अध्यक्ष सिलवालले सरकारले बीमाका समस्या समाधानका लागि सहयोग गर्ने आशा रहेको उल्लेख गर्नुभयाे । उहाँले बीमा समितिबाट मर्जरका लागि स्वीकृत पाएका कम्पनीहरूले माघ महिनाभित्र मर्जर गर्नुपर्ने पनि बताउनुभयो ।

आजदेखि बीमा समितिले गर्ने सबै काम बीमा प्राधिकरणको नामबाट हुनेछ । यसअघि बीमा समितिले गरेके कामसमेत नयाँ बनेको प्राधिकरणले स्वामित्व गर्नेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Ramesh Bhattarai

    Nov. 8, 2022, 8:43 p.m.

    नाम नै अशुद्ध(बीमा ) लेखेर बिमा समितिको नयाँ नामाकरण भएछ।शुद्ध त बिमा हो नि।

  •  0 Reply

तपाईको प्रतिक्रिया