युवा विद्यार्थीलाई सचेत बनाउन साइबर सुरक्षा कार्यक्रम, अमेरिकी प्रशिक्षकले तालिम दिने

 कात्तिक २४, २०७९ बिहिबार २०:२७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युवा विद्यार्थीलाई सचेत बनाउनका लागि काठमाण्डौमा एथिकल ह्याकिङ र साइबर सुरक्षासम्बन्धी कार्यक्रम हुने भएको छ ।

डिजिटल अपराधमा एथिकल ह्याकरको भूमिका नाम दिइएको कार्यक्रम भाेलि शुक्रवार बिहान १० बजे डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेजमा हुनेछ । यो कार्यक्रम 'प्लस टु' र स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरिएको कलेजले जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुन अनलाइनमार्फत नाम दर्ता गर्न सकिनेछ ।

कार्यक्रममा अमेरिकाको गुप्तचर विभागको नेशनल कम्प्युटर फोरेन्सिक इन्स्टिच्युट, नेशनल ह्वाइट कलर क्राइम सेन्टर, नर्थइस्ट काउन्टर ड्रग ट्रेनिङ सेन्टर, फेडरल ब्युरो अफ इन्भेस्टिगेशनको टेक्नोलोजी विभाग, फिल्ड डिभिजनबाट प्रशिक्षित भएका प्रशिक्षक रोबर्ट भ्यानवेले ह्याकिङबारे जानकारी दिनुहुनेछ ।

प्रशिक्षक राेबर्टकाे विशेषज्ञता कम्प्युटर र वित्तीय अपराधमा छ । विशेषगरी अनलाइन धोखाधडी, कम्प्युटर, नेटवर्क ह्याकिङ, बालबालिकाको अनलाइन शोषण र मानव तस्करी अनुसन्धानमा उत्कृष्ट भएर न्युयोर्क राज्यका महान्यायाधिवक्ता र फेडरल ब्युरो अफ इन्भेस्टिगेशनबाट उहाँ पुरस्कृत हुनुभएको थियो । 

कार्यक्रम सफ्टवेरिका कलेजको फेसबुकमार्फत पनि प्रत्यक्ष प्रसारण हुने जानकारी दिइएकाे छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया