चुनावी नारामा सीमित नौमुरे जलविद्युत् आयोजना

 कात्तिक २५, २०७९ शुक्रबार १५:१४:२९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे जलविद्युत आयोजनालाई यस क्षेत्रका नेताहरूले चुनावी नाराका रूपमा प्रयोग गर्दै आएका छन् । 

तीन महिना लामो समय खर्चेर २०४३ सालमा सर्वेक्षण गरिएको नेपालकै नमुना नौमुरे जलविद्युत् परियोजना अहिलेसम्म पनि सञ्चालनमा आउन नसक्दा बेवारिसे बनेको छ । 

आउँदो चुनावमा अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेबाट टोपबहादुर रायमाझी र सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिनुभएको छ । उहाँहरूमात्रै होइन, यस क्षेत्रका धेरै नेताले नौमुरे जलविद्युत् आयोजनालाई चुनावी नारा बनाउने गरेका छन् । 

तत्कालीन जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गर्नुभएकाे नौमुरे जलविद्युत् बहुउद्देश्यीय आयोजनाको साइट कार्यालय । तस्बिर : प्रेमनारायण आचार्य

अर्घाखाँचीबाट टोपबहादुर रायमाझी ऊर्जामन्त्री पनि हुनुभयो । उहाँले काम सुरु हुन्छ भन्दै हेलिकप्टरमा चढेर नौमुरेमा पुगी तामझामका साथ शितगंगा नगरपालिका वडा नम्बर ७ लामातालमा नौमुरे बहुउदेश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्नुभयो । कार्यालयमा कर्मचारी पनि भर्ना भए । तर अहिले कार्यालय महिनौँदेखि बन्द छ । भर्ना गरिएका केही कर्मचारी अहिले रोजगारीका लागि विदेश पुगेका स्थानीयवासी लालबहादुर राउतले भन्नुभयो । ‘बजेट नै नआएको कार्यालय खोलेर हामीलाई चुनावमा मात्र प्रयोग गर्न खोजे’, उहाँको गुनासो थियो  ।

जुन पार्टीको नेता लामाताल पुगे पनि आफ्नो पार्टीलाई जिताए नौमुरे जलविद्युत् आयोजना सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने आश्वासन बाँड्द आएका छन् । तर सत्तामा पुगेपछि यसतर्फ कसैको ध्यान पुग्न नसकेको स्थानीयवासी झकबहादुर राउतको गुनासाे छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया