गृहमन्त्री थापाले भने : दाेषी त १३ वर्षपछि पनि कानुनकाे कठघरामा अाएका छन्

 असोज १७, २०७५ बुधबार १४:१४:१५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिका निम्ति सुशासन, शान्ति र स्थायित्व महत्वपूर्ण पक्ष भएको बताउनुभएको छ ।

बुधबार भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री थापाले सरकार निर्माण भएपछि शान्ति र स्थायित्वका निम्ति महत्वपूर्ण उपलब्धिहरु हासिल भएको बताउनुभयो । निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको बताउँदै गृहमन्त्री थापाले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भए पनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको बताउनुभयो ।

यसअघि निर्मला पन्तजस्ता धेरै नारी बलात्कृत हुँदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको बताउँदै उहाँले अपराधमा राजनीति मिसाउनु राम्रो नभएको बताउनुभयो । अपराध गर्नेहरु १३ वर्षपछि समेत पक्राउ परेको अवस्था भएकोले दोषी अपराधी कुनै पनि हालतमा पक्राउ पर्ने बताउनुभयो ।

३३ किलो सुनको अनुसन्धानको क्रममा ३३ सय किलो सुनको तस्करी पत्ता लागेको बताउँदै गृहमन्त्री थापाले भन्नुभयो, ‘लगभग चार हजार किलो सुन यो सरकार आउनु अघिदेखि तस्करी भइरहेको थियो भन्ने कुरा पत्ता लागेको छ पछिल्लो समय सुन तस्करीको सञ्जाल ध्वस्त भएको छ ।’

आर्थिक अपराध, तस्करी, सिन्डिकेट तथा भ्रष्टाचारविरुद्ध सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउदै गृहमन्त्री थापाले सरकार गठन हुनु अगाडि दैनिक जसो हुने विस्फोट, चन्दा आतंक, अपराधलाई निस्तेज गर्दै शान्ति र स्थायित्वका लागि सरकारले महत्वपूर्ण कदमहरु चालेको बताउनुभयो ।

घरेलु हिंसा वृद्धि हुनुका कारण रक्सी–जाँड र लागुऔषध रहेकोले यसको नियन्त्रण र नियमन गर्नका लागि सरकार लागिरहेको बताउँदै उहाँले लागुऔषध र रक्सी–जाँड नियमन र नियन्त्रण गर्न सरकार र नागरिकको संयुक्त अभियानमा काम गरिने बताउनुभयो । 

भ्रष्टाचार, गुण्डागर्दी र अपराध नियन्त्रणमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउँदै गृहमन्त्री थापाले देशका ३६ हजार स्कुल, क्याम्पस र ७ हजार वडामा लागुपदार्थ विरुद्धको अभियान र घरेलु हिंसा विरुद्धको अभियान चलाइने बताउनुभयो । 

 

अन्तिम अपडेट: चैत २३, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

1 Comments

  • Shailendra kumar jha

    Oct. 4, 2018, 6:41 a.m.

    After such type irresponsible coment it is sure that this govement will not stay for long.

  •  0 Reply

तपाईको प्रतिक्रिया