जी–२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदै

 कात्तिक २९, २०७९ मंगलबार ६:४९:१४ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदैछ ।

सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुख इन्डोनेसिया पुगेका छन् । ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मुख्य नाराका साथ शिखर सम्मेलन सुरु हुँदैछ । आज र भोलि हुने जी–२० नेताहरूको शिखर सम्मेलनमा विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा सङ्क्रमण र डिजिटल रूपान्तरण गरी तीन वटा मुख्य प्राथमिकताका विषयमा छलफल केन्द्रित हुनेछ ।

सम्मेलनमा रुसले युक्रेनमा गरेको आक्रमण, बढ्दो खाद्य असुरक्षालगायतका विषयमा पनि छलफल हुनेछ । सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी जिन‍पिङ, बेलायती प्रधानमन्त्री ऋषि सुनक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत इन्डोनेसिया पुग्नुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भ्रमण स्थगित गरेर विदेशमन्त्री सर्गेइ लाभरोभलाई प्रतिनिधिका रुपमा पठाउनुभएको छ । सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी बीच भेटवार्तासमेत भएको छ । बालीमा तीन घण्टा लामो भेटवार्तामा शीर्ष दुई नेताबीच द्वन्द्व टार्ने विषयमा छलफल भएको बीबीसीले जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता विश्वको खाद्य सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताउनुभएको छ । इन्डोनेसियाको बालीमा जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा उहाँले विश्वका धेरै ठाउँमा अनिकाल र भोकमरी हुन नदिन तत्काल कदम चाल्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया