नेभिगेशन
शनिबार, असोज ३, २०८३

प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ३ क्षेत्रकाे नतिजा सार्वजनिक : कांग्रेस अगाडि

काठमाण्डौ – प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये तीन र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधिसभाका २ र प्रदेशसभाका ३ निर्वाचन क्षेत्रमा जित हात पारेको छ ।

कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत मनाङ र मुस्ताङ तथा प्रदेशसभा अन्तर्गत मनाङ क र मुस्ताङको क र ख प्रदेशमा जित हात पारेको हो । 

एमाले प्रतिनिधिसभा अन्तर्गत ललितपुर २ मा विजयी भएको छ । पछिल्लो नतिजाअनुसार ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई ६ हजार भन्दा धेरै मतले पछि पार्दै एमालेका महर्जन विजयी हुनुभएको हो । विजयी महर्जनले १५ हजार २५ मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका शाक्यले ८ हजार ८८६ मत प्राप्त गर्नुभएको छ । यस्तै सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८ हजार २६४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै हिमाली जिल्ला मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याउनुभयो भने एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याउनुभएको छ ।

यसैगरी मनाङको प्रदेश सभा क्षेत्र नम्बर क मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको छ । नेकपा एमालेका राजनबहादुर गुरुङलाई पराजित गर्दै कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको हो । मनाङ ख मा स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे भनिने राजिव गुरुङको मात्रै उम्मेदवारी परेको थियो । 

मुस्ताङमा नेपाली काँग्रेसले क्लिन स्विप गरेको छ । प्रतिनिधि सभातर्फ एउटा र प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको मुस्ताङका सबै सीटमा कांग्रेसले जित हासिल गरेको हो । प्रतिनिधि सभातर्फ कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । यस्तै मुस्ताङको प्रदेशसभा क मा नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङ नेकपा एमालेका इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको छ ।

यस्तै मुस्ताङको प्रदेशसभा ख मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बन्नुभएको छ । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गर्नुभएको हो । शेरचनले दुई हजार सात सय ३० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गर्नुभएको छ ।  

प्रकाशित मिति: