प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित

 मंसिर ९, २०७९ शनिबार २:३:५० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म पाँच मन्त्री पराजित हुनुभएको छ भने तीन मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना जारी छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा क्षेत्र नम्बर १ बाट १२ हजार ४ सय ३२ मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले २५ हजार ५ सय ३४ मत प्राप्त गर्नुभएको छ । निकटतम् प्रतिद्वन्द्वी स्वन्तन्त्र उम्मेदवार सागर ढकालले १२ हजार ४२ मत प्राप्त गर्नुभयो । 

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट १९ हजार ५ सय ३४ मतसहित विजयी हुनुभयो । उहाँले एमालेका झपट बोहोरालाई ४ हजार ४ सय ८९ मतान्तरले पराजित गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू २८ हजार ५ सय १५ मतसहित दार्चुला क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार ३ सय ८१ मत प्राप्त गर्नुभयो । 

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको छ । उहाँले ३९ हजार पाँच सय ४९ मत प्राप्त गर्नुभयो । सहरी विकास मन्त्री मेटमणि चौधरी दाङ निर्वाचन क्षेत्र नक्बर १ बाट ५ हजार ८३ मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले एमालेकी शान्ता चौधरीलाई पराजित गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बागलुङ २ बाट २४ हजार ७ सय ७९ मतसहित विजयी हुनुभएको छ । 

गएको आइतवार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मतगणना केही स्थानमा अझै जारी छ । परराष्ट्र मन्त्री डा नारायण खड्काले उदयपुर क्षेत्र नम्बर १ मा १४ हजार दुई सय ४१ मतसहित अग्रता कायम गरिराख्नुभएको छ । हालसम्म गृहमन्त्री बालकृष्ण खाण र सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले पछाडि हुनुहुन्छ । 

रुपन्देही ३ बाट उम्मेदवार बन्नुभएका गृहमन्त्री खाणले २९ हजार २ सय ५५ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपक बोहोराले ३० हजार पाँच सय ७७ मत प्राप्त गर्नुभएको छ । यस्तै सुनसरी ४ बाट उम्मेदवार बन्नुभएका सञ्चारमन्त्री कार्की १ सय १ मतसहित पछाडि हुनुहुन्छ । मन्त्री कार्कीले १९ हजार ७ सय ९ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियतले १९ हजार ८ सय १० मत प्राप्त गर्नुभएको छ । 

यसपटकको निर्वाचनमा पाँच मन्त्रीले पराजय बेहोर्नु परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, युवा तथा खेलकूद मन्त्री महेश्वरराज गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचनमा पराजित हुनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया