प्रत्यक्षतर्फ १ सय ५४ सिटको टुङ्गो लाग्दा ११ स्थानमा बाँकी

 मंसिर १०, २०७९ आइतबार ५:२७:४६ | रासस
unn.prixa.net

काठमाण्डौ – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । 

निर्वाचन आयोगका अनुसार कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आइतवार बिहानसम्म १ सय ५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जित हासिल गरेको छ । 

त्यसैगरी नेकपा माओवादी केन्द्रले १७, नेकपा एकिकृत समाजवादीले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७/७ क्षेत्रमा विजयी भएका छन् । साथै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेका छन् ।

निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिवार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो ।

हालसम्म दोलखा–१, स्याङ्जा–२, सुनसरी–१, ३ र ४, बाजुरा, इलाम–१, उदयपुर–१, महोत्तरी–१  र रामेछापको नतिजा आउन सकेको छैन ।

दोलखा–१ मा चुनावसम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन । राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो । त्यसैगरी स्याङ्जा–२ मा दलहरुबीच मतगणनाका लागि सहमति जुटेको छैन । 

सुनसरी–१ मा भने मतगणना जारी छ । त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिइरहनु भएको छ भने उहाँलाई जनता समाजवादी पार्टीका अशोक कुमार राईले ११ हजार ९ सय ८२ मतसहित पछ्याइरहनु भएको छ । 

सुनसरी–३ मा एमालेकि भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९ सय ३७ मतका साथ पछ्याइरहनुभएको छ । 

सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४ सय ४५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४ सय ३३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

बाजुराको बूढीनन्दा नगरपालिका–५ मा शनिवार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन । इलाम–१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेकपा एकिकृत समाजवादीका झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

उदयपुर–१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९ सय १७ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १ सय ९ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । 

महोत्तरी–१ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४ सय २० मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार सय ५८ मतका साथ उहाँलाई पछ्याइरहनु भएको छ । 

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६ सय ६२ मतका साथ अग्रता कायम राख्नुभएको छ भने उहाँलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६ सय ४९ मतका साथ पछ्याइरहनुभएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया