जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल, बालेन शाहकाे टिमले ६ गाेल खायाे

 मंसिर २६, २०७९ सोमबार १३:२३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महानगर दिवसको अवसरमा आज दशरथ रङ्गशालामा काठमाण्डाै महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियाेगिता भएकाे छ । रङ्गशालामा  प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीच मैत्रीपूर्ण फुटबल खेल भएकाे हाे । 

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीकाे नेतृत्वमा खेल भएको थियो । प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरुकाे सहभागिता थियाे । प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । 

जनप्रतिनिधिको टिम कप्तान भए पनि मेयर बालेन्द्र शाह खेलको दाेस्राे हाल्फपछि मात्रै मैदानमा छिर्नुभएकाे थियाे ।  तर मेयर शाह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । खेल ६—१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो ।

काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारी बीचको फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउनुभएको छ । फुटबल खेलपछि उहाँले खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा 'आइसब्रेक' गर्ने काम गरेको बताउनु भएको हो ।

उहाँले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्यक्ष रुपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारी बीचको फुटबल खेलले सम्बन्ध सुधार गर्ने काम गरेको बताउनु भयो ।

महानगर दिवसका अवसरमा काठमाण्डाै महानगरपालिकाले हरेक वर्ष जनप्रतिनिधि र कर्मचारीबीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया