चेपे 'ए' आयोजनामा आगजनी र तोडफोड गरेको भन्दै ८ जनाविरुद्ध किटानी जाहेरी

 मंसिर २६, २०७९ सोमबार १९:३८:३४ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माणाधीन चेपे 'ए' जलविद्युत् आयोजनामा भएको तोडफोड र आगजनीको घटनामा संलग्न रहेको भन्दै आठ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी चम्पावती हाइड्रोले आज सोमवार जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दर्ता गराएको हो । 

गोरखाको सिरानचोक गाउँपालिका २ कुभिण्डेबेसीमा रहेकाे आयोजनाको पावर हाउस क्षेत्रमा पुगेका लमजुङको राइनास नगरपालिकाका बासिन्दाले तोडफोड र आगजनी गरेका हुन् । जाहेरीमा तोडफोडमा संलग्न आठ जनाको नाम किटान गरि कारबाहीको माग गरिएको छ । कम्पनीका सञ्चालकमध्येका हरिकृष्ण पौडेलले दर्ता गराउनुभएको जाहेरीमा लमजुङको राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल र नेपाली कांग्रेसका नगर कार्यसमिति सभापति श्रीकृष्ण पौडेलसहित आठ जनालाई कारबाही गर्न माग गरिएको छ । कम्पनीले तोडफोड र आगजनीबाट तीन करोड ४० लाख रुपैयाँ क्षति पुगेको उल्लेख गरेको छ । 

राइनासका आक्रोशित स्थानीयवासीले कम्पनीका दुई वटा मिनी ट्रक, एउटा मोटरसाइकल र एउटा एक्स्काभेटरमा आगजनी गरेका थिए । जाहेरीमा उल्लेख भएका व्यक्तिहरूबाट क्षतिपूर्ति भराउन पनि कम्पनीको माग छ । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को २८५ मा भएको व्यवस्थाअनुसार कानुनी कारबाही गर्न पनि चम्पावती हाइड्रोपावर कम्पनी लिमिटेडले माग गरेको छ । 

चेपे 'ए' आयोजनाका कारण राइनासटार सिँचाइ आयोजनाको मुहानबाट पानी सञ्चालन गर्न नसकिने भन्दै स्थानीयवासीले गएकाे शनिवार आयोजना कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

अन्तिम अपडेट: चैत १०, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया