पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
म्याग्दी – म्याग्दीमा यसवर्ष धान उत्पादन घटेको छ । गएकाे वर्षको तुलनामा यसवर्ष धान उत्पादन घटेको हो । समयमा रोपाइँ नहुनु, सिँचाइको अभाव, मनसुनी वर्षा नपर्नु, बिउमल नपाउनु जस्ता कारणले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
यसवर्ष वातावरणमा आएको परिवर्तन, धान खेत वरिपरि उम्रिएका रुख, झाडी र बुट्यानको तप्केनी, घाम नपर्नु, ढिलो रोपाइँ हुनु, धानको फूल खेल्ने समयमा अत्यधिक पानी पर्नु, हावाहुरी चल्नु जस्ता कारणले गर्दा स्थानीय जातको धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीका कार्यालय प्रमुख किरण सिग्देलले बताउनुभयो । अन्य धानको तुलनामा स्थानीय जातको धान उत्पादन घटेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा खेतीयाेग्य जमिनमध्ये यसवर्ष कुल ३ हजार ८ सय ९० हेक्टर क्षेत्रफलको जमिनमा धान खेती लगाइएको थियो । प्रति हेक्टर ३ दशमलव १ मेट्रिक टन धान उत्पादन भएको छ भने जिल्लाभर कुल १२ हजार ५९ मेट्रिक टन मात्रै धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सम्झना शर्माले बताउनुभयो । उहाँले गएकाे वर्ष प्रति हेक्टर ३ दशमलव ४७ मेट्रिक टन अर्थात् १३ हजार ४ सय ८० मेट्रिक धान उत्पादन भएको जानकारी दिनुभयो । गएकाे वर्षको तुलनामा यसवर्ष म्याग्दीमा १४ सय २१ मेट्रिक टन धानको उत्पादन घटेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
म्याग्दी जिल्लामा प्रायजसाे किसानहरुले स्थानीय जातको लोकल धान लगाउने गरेका छन् । म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिएको छ । विकासे धानतर्फ भने किसानहरुले त्यति चासो देखाएका छैनन् । नदी किनारका फाँटहरुमा बढी धान खेतीलगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिएको छ । पछिल्लो समय जिल्लाको केही ठाउँमा सुक्खा धान १, २, ३ नामको जात समेत लगाइन्छ ।
एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसाे क्षेत्रमा धान खेती हुने गरेको छ । जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ । यी क्षेत्रहरु धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन ।
म्याग्दी जिल्लामा कुल ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । ११ हजार ३ सय ९८ हेक्टरको जमिन बाँझो रहनुका साथै जग्गा प्लटिङमा परिणत भएको छ ।
खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेको छ । यसमध्ये १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने ४ हजार ३ सय ३३ हेक्टरको जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।