वायुसेवा निगम र आन्दोलनरत पक्षबीच सहमति : नियमित उडान सुरु

 पुष १, २०७९ शुक्रबार ६:५९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विमान परिचारिका अर्थात् ‘क्याबिन क्रु’ को आन्दोलनका कारण रोकिएको नेपाल राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को नियमित उडान सुरु भएको छ । दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि बुधवार र बिहीवार उडान रोकिएको थियो ।

निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच हिजो दिनभर छलफल गरेर सहमति भएसँगै बेलुकादेखि उडान पुनःसञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवार बिहान निर्धारण गरिएका उडान राति मात्रै भएको थियो भने हिजो बिहानैदेखि निगमको कुनै पनि उडान भएको थिएन । सहमतिपछि उडान नियमित सञ्चालन भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । गएराति भारतको नयाँ दिल्ली र साउदी अरेबियाको रियादका लागि उडान गरिएको छ ।

निगममा कार्यरत सबै क्याबिन क्रुको करार नवीकरण गर्ने सहमतिपछि उनीहरु काममा फर्किएका हुन् । करारमा रहेर १५ वर्ष सेवा गरेका दुई जना क्रु मेम्बर आरती महर्जन र स्मिता गुवाजुलाई करार नवीकरण नगरि सेवाबाट हटाउन खोजिएको भन्दै सबै क्रु मेम्बरले उडानमा सहभागी नभएर विरोध जनाएका थिए ।

नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले विज्ञप्ति निकालेर निगम व्यवस्थापनले समयमै करार नवीकरण नगरेको, परिचयपत्र समयमा नदिएको तथा सेवा सुविधामा पनि विभेद गरिएको आरोप लगाएको थियो । आन्दोलनका कारण निगमले कम्तीमा ५० लाख रुपैयाँ अतिरिक्त घाटा ब्यहोर्नुपरेको छ ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया