परीक्षा नियन्त्रण कार्यालयमा बल्खुमा सास्ती : पढ्नभन्दा ट्रान्स्क्रिप्ट लिन झन्झट

 जेठ २४, २०७५ बिहिबार १३:३७:२२ | उज्यालो सहकर्मी

काठमाडौं – डडेलधुराका निर्मल सिंह एस.के. जेठ ४ गते आफ्नो स्नातक तहको ट्रान्स्क्रिप्ट लिन परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभयो ।

कार्यालयका कर्मचारीले भनेअनुसार  आवश्यक कागजात र फोन नम्बर पनि लेखेर आवेदन बुझाउनुभयो । ट्रान्स्क्रिप्ट लिन दुई हप्तामा आउन भनियो । उहाँ जेठ २० गते ट्रान्स्क्रिप्ट लिन बल्खु पुग्नुभयो । आधा घण्टाजति लाइनमा उभिएपछि पालो आयो तर ट्रान्स्क्रिप्ट भने आएन । 

भित्रबाट एकजना कर्मचारीले रुखो स्वरमा भने, ‘फेल भएको मार्कसिट नबुझाइ आउँछ ट्रान्स्क्रिप्ट ? निर्मल अचम्ममा पर्नुभयो । ‘त्यतिबेला कर्मचारीले आफूलाई फेल भएको मार्कसिट चाहिँदैन भनेको कुरा उहाँले सुनाउनुभयो तर अहिलेका कर्मचारीले भने ‘खोइ त्यसबेला चाहिएन होला अब चाहियो त के गर्ने भाइ ?’ 

सुरुमा कर्मचारीले नै फेल भएको मार्कसिट चाहिँदैन भने, पछि फेरि नभइ हुँदैन भने निर्मल भन्नुहुन्छ, ‘चाहिने भए फोन गरेर भनिदिनुपथ्र्यो नि, नम्बर के का लागि राखेको त निवेदनमा ?’

पोखरामा एल.एल.बी. को प्रवेश परिक्षा दिएर काठमाडौं पुगेका निर्मल ट्रान्स्क्रिप्ट निकालेर त्यही दिन घर फर्कने सोचमा हुनुहुन्थ्यो तर यो झन्झन्टले कि काठमाडौंमै धेरै दिन बस्नुपर्ने वा पोखरा फर्किए पनि फेरि आउनुपर्ने बाध्यता भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने लापर्बाहीको एउटा सानो उदाहरण मात्र हो यो । बल्खुको यस्तो सास्ती त्यहाँ जाने प्रायः सबैले भोगेकै हुन्छन् । 

यस्तै बुटवलका बुद्धि बलाल आफ्नी सालीको ट्रान्स्क्रिप्ट लिन बल्खु पुगेको चौथो पटक हो । दुई महिना अगाडि गएको मार्च २१ तारिखमा आवेदन दिनुभएका बुद्धिलाई एक महिनापछि आउनु भनेको थियो तर दुई महिनामा चार पटक धाँउदा पनि नपाएको उहाँले गुनासो गर्नुभयो । ‘आज चाहिँ हुन्छ भनेको छ, बुद्धिले भन्नुभयो तर टुंगो छैन ।’ 

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा बेग्लै खालको समस्या लिएर पुग्नुभएको थियो जनकपुरका श्यामसुन्दर यादव । उहाँकी छोरी चन्द्रीका कुमारीले परीक्षा पास गर्नुभयो, मार्कसिटमा पनि पास भएकै आयो तर ट्रान्स्क्रिप्टमा गयल अर्थात ‘एब्सेन्ट’ देखायो ।

छोरीको बिगे्रको लब्धांकपत्र सच्याएर ट्रान्स्क्रिप्ट लिन बल्खु धाएको चार दिन भयो तर चारदिसम्म उहाँले के गर्नुपर्छ, कुनै मेसो नपाएको बताउनुभयो । कर्मचारीले पनि राम्रोसँग नबुझाएको उहाँको भनाई छ । 

पनिकाकै त्रुटीका कारण प्रमाणत्र सच्याउन बल्खु धाउनेको संख्या सैयाँै हुने गरेको छ । कसैको नाम र थर एउटैमा जोडिएको, कसैको कुमारी त कसैको बहादूर छुटेको, ‘रि टोटलिङ’मा उतीर्ण भएर पनि लब्धांकपत्रमा नम्बर नचढाएको, कसैको अंग्रेजीमा स्पेलिङ बिग्रिएको जस्ता अनेकौ खालका समस्या व्यहोर्नुपरेको उनीहरुको भनाई छ ।  

लापबाहीको हद यतिसम्म छ कि कैलाली बहुमुखी क्याम्पसकी छात्रा यमुनाकुमारी बोहोरोको स्नातक तह तेस्रो वर्षको लब्धाङ्कपत्र नवीनकुमार चौधरीको नाममा आएछ । पनिकाको त्रुटी सुधार्न क्याम्पसको सिफारिस बोकेर यमुनका साथी पनि बल्खु धाइरहेका छन् । अझै दुःखको कुरा त के छ भने कार्यालय आफ्नै लापर्वाहीले गरेका गल्ती सच्याउन पनि विद्यार्थीले दस्तुर बुझाउनुपर्छ । 
विद्यार्थी र अभिभावकले पाउने दुःख त छँदैछ उल्टो शुल्क पनि बुझाउनुपर्ने सास्तीको हद हुँदैन र ?

कर्मचारीको झर्कोफर्को 

परीक्षा नियन्त्रण कार्यालय बल्खु लापरबाही र ढिलो सेवा दिने कार्यालयका रुपमा मात्र होइन, कर्मचारीको दिक्कलाग्दो व्यवहारका कारण पनि बदनाम छ । यो कार्यालयका कर्मचारी सेवाग्राहीसँग नरम भएर बोल्ने र यस्तो यस्तो काम यसरी गर्नुपर्छ भनेर कहिल्यै भन्दैनन् । सेवाग्राहीलाई हप्काउने र झर्कोफर्कोको शैली उनीहरुको विशेषता नै रहेको सेवाग्राही बताउँछन् ।

पनिकाले नै नाम बिगारेको कारण ट्रान्स्क्रिप्ट झिक्न दौडधुप खेपिरहेका सर्लाहीका नितेस यादवले भन्नुभयो, ‘बरु तीन वर्ष क्याम्पस पढ्न यति मेहेनत लागेको थिएन होला, बल्खुमा त हैरानै भइसकियो ।’ 

परीक्षा नियन्त्रक पुष्पराज जोशीले क्याम्पसबाटै हुने गल्तीका कारण पनि समस्या भइरहेकाले अब शुद्धाशुद्धीमा थप कडाइ गरेर मात्र आवेदन स्वीकार्ने बताउनुभयो । कार्यालयको प्राविधिक स्तरीयतालाई पनि गुणस्तरीय बनाउने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो छ । 

एकै दिनमा ट्रान्स्क्रिप्ट पाउने कहिले ?

पनिकाले २४ घण्टाभित्र ट्रान्स्क्रिप्ट पाउने नियम भर्खरै सुरु गरेको छ तर कार्यान्वयन भने पूर्ण रुपमा भएको छैन । परीक्षा नियन्त्रक पुष्पराज जोशीले पहिलेदेखि ट्रान्स्क्रिप्टको काम बाँकी नै भएकाले त्यो सकिएपछि २४ घण्टामा ट्रान्स्क्रिप्ट दिने व्यवस्था लागू गरिने बताउनुभयो । अब १५ देखि २० दिनभित्र यो सेवा सुरु गर्न सकिने पनि उहाँले दाबी गर्नुभयो ।  

ट्रान्स्क्रिप्टको आवेदन अनलाइनबाटै भर्न पाउने व्यवस्था सुरु हुन भने अझै एक वर्ष लाग्ने उहाँले बताउनुभयो । सबै क्याम्पसको अनलाइन नेटवर्किङलाई शुत्रवद्ध गरेर व्यवहारमा उतार्न समय लाग्ने उहाँको भनाई छ । 


 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया