आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना : चिसोले तराईको जनजीवन प्रभावित

 पुष १६, २०७९ शनिबार ७:१६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - आज देशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । अहिले काठमाण्डौ उपत्यका तथा तराई/मधेसमा हुस्सु र कुहिरो लागेको छ । काठमाण्डौमा लागेको हुस्सु कुहिरो घाम लाग्न थालेसँगै हट्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।

आज बिहान काठमाण्डौको न्यूतनम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । गएको बुधवार काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस थियो ।

यसैबीच तराई–मधेसमा बढ्दै गएको चिसोले जनजीवन प्रभावित बनेको छ । दुई/तीन दिनदेखि घाम लागेको छैन ।

निरन्तर बाक्लो हुस्सु कुहिरो लागेर चिसो स्याँठ चलेकाले कठ्याङ्ग्रिँदाे चिसो भइरहेको छ । तापक्रम दिनदिनै घट्न थालेपछि विशेषगरी बालबालिका, वृद्धवृद्धा, दमका रोगी र दीर्घरोगी तथा अल्पसङ्ख्यक समुदाय प्रभावित भएका छन् ।

दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरु पनि समस्यामा परेका छन् । मानिसहरु घरबाट बाहिर निस्कन सकेका छैनन् । चिसोले मुसहर, डोम, चमारलगायत दलित र अति विपन्न परिवार बढी प्रभावित बनेका छन् । उनीहरु न्यानो कपडा अभावमा चिसोमा रात काट्न बाध्य छन् ।

चिसोले नागरिक प्रभावित भए पनि स्थानीय सरकारले पूर्वतयारी र राहतको व्यवस्था गर्न सकेका छैनन् । चिसो छल्न कतिपयले आगो बालेर ताप्ने गरेका छन् । चिसोका कारण बालबालिकालाई विद्यालय जान कठिन भइरहेको सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेषकुमार सिंहले बताउनुभयो ।

चिसो बढेपछि महोत्तरीका धेरैजसो विद्यालयमा बिदा दिन थालिएको छ ।  लगातारजसो दिनभरि नै बाक्लो हुस्सु लाग्न थालेपछि जाडो बिदा दिइएको हो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया