सोलुखुम्बुकाे मिड सोलु जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

 पुस १७, २०७९ आइतबार ९:४५:१२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखोलामा निर्माण सम्पन्न मध्य सोलुखोला जलविद्युत् आयोजना (मिड हाइड्रोपावर) ले विद्युत् उत्पादन सुरु गरेको छ ।

गएकाे मंसिर २५ गतेबाट २० दिनसम्म गरिएको परीक्षण उत्पादन सफल भएपछि शुक्रवारदेखि व्यावसायिक उत्पादन थालेको आयोजनाले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले व्यावसायिक उत्पादनका लागि आयोजनालाई मौखिक स्वीकृति दिए पनि पत्र भने सोमवार भाेलि प्राप्त हुने आयोजनाका इलेक्ट्रिकल इन्जिनियर एवम् प्लान्ट इञ्चार्ज अनिश खड्काले जानकारी दिनुभयाे । 

उहाँका अनुसार अहिले आयोजनाले ५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । ९ दशमलव ५ मेगावाट क्षमताको आयोजनाले हिउँद सिजनमा ५ मेगावाट मात्रै विद्युत् उत्पादन गर्न सक्ने मिड सोलु हाइड्रोपावर लिमिटेडका निर्देशक माधव मैनालीले जानकारी दिनुभयाे । 

२०७७ साल असोजदेखि निर्माण सुरु भएको १३२ केभी प्रसारण लाइन आयोजनाको पावर हाउसदेखि खोरिया हुँदै सोलु करिडोरको सबस्टेशन तिङ्लामा जोडिएको छ । दुई वर्षमै निर्माण सम्पन्न भएको आयोजनाको विद्युत् गृह सोलुदूधकुण्ड नगरपालिका-६ दोर्पुमा रहेको छ । परियोजनाको निर्माण लागत करिब २ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया