रुबी खानको न्यायको लडाइँ र माइतीघरको नसकिएको धर्ना

 पुस १७, २०७९ आइतबार १२:७:५४ | वैद्यनाथ पाैडेल
unn.prixa.net

निर्मला कुर्मी बेपत्ता प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै बाँकेका १४ जना महिलाले काठमाण्डौको माइतीघरमा फेरि धर्ना सुरु गरेका छन् । धर्नाको नेतृत्व गर्नुभएकी बाँकेकी महिला अधिकारकर्मी रुबी खान भन्नुहुन्छ, ‘एक जना महिला जो आफ्नो सम्पत्तिका कारण बारम्बार उहाँमाथि यातना दिइएको र उहाँ सम्बन्धित निकायमा जाँदा आवाज नसुनेपछि उहाँ भौँतारिँदै महिला अधिकार मञ्च बाँकेसम्म पुगेपछि उहाँको न्यायका लागि हामी पटक पटक काठमाण्डौ आउनुपरेको छ । अहिलेको सिलसिला पनि यही हो ।’

खानसमेतको टोली गएको २०७८ सालमा कात्तिक १ गतेदेखि २० गतेसम्म पैदल यात्रा गर्दै नेपालगञ्जबाट काठमाण्डौ आएको थियो । त्यसभन्दा अगाडि उहाँहरुले निर्मलादेवीको न्यायको लागि भनेर जिल्ला प्रशासन कार्यालय बाँकेमा १९ दिन धर्ना दिनुभएको थियो । 

‘बाँकेले हाम्रो आवाज बेवास्ता गरेपछि कष्टपूर्ण यात्रा गदै हामीलाई न्यायको लागि काठमाण्डौ आउनु परेको थियो । स्थानीय निकायले हाम्रो आवाज सुनेन् । सिंहदरबारले हाम्रो आवाज सुन्छ भनेर हामी काठमाण्डौ आएका थियौँ,’ रुबी भन्नुहुन्छ ।

उहाँहरु प्रदेशमा पनि तीन दिन धर्ना दिनुभयो । त्यहाँ पनि उहाँहरुको आवाज सुनुवाइ भएन । अनि मुख्यमन्त्रीले नै हामीलाई कुनै अधिकार दिइएको छैन त्यसकारण यहाँबाट यो समाधान हुन सक्दैन भनेपछि उहाँहरु  काठमाण्डौ आउनु भएको हो ।

रुबीका अनुसार सिंहदरबारले पनि उहाँहरुलाई निरन्तर बेवास्ता गर्यो । उहाँलाई त झुठा मुद्दामा फसायो । र, आन्दोलनलाई नेतृत्वविहीन बनाउन खोजियो । उहाँ भन्नुहुन्छ, ‘तर, यहाँ सबै महिलाहरु नेतृत्व गर्न सक्षम हुनुहुन्छ । एउटा रुबी गएर केही हुँदैन । त्यसकारण आन्दोलन अगाडि बढ्यो ।’

आन्दोलनको क्रममा वार्ता भयो र सरकारले कात्तिक २ गते गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति बनायो । छानबिन समितिले स्थानीय स्तरमा गएर छानबिन गर्ने र छानबिन समितिको प्रतिवेदनका आधारमा कारबाही अगाडि बढाउने भनेर गृह मन्त्रालयले प्रतिबद्धता पनि जाहेर गरेको थियो ।

त्यसपछि छानबिन समिति गठन भएर प्रतिवेदन तयार भयो । उहाँका अनुसार गृह मन्त्रालयले जसरी प्रतिवेदन सार्वजनिक गर्नुपर्थ्याे त्यस अनुसार सार्वजनिक गरिएन । र, कारबाही पनि भएन । त्यसपछि उहाँहरु फेरि २०७८ सालको मङ्सिर ९ गतेदेखि पुनः आन्दोलनमा बस्नुभयो । र, ४३ दिनपछि फेरि गृह मन्त्रालयसँग वार्ता भयो । वार्तापछि जुन किसिमको न्याय दिने आश्वासन दिइएको थियो । त्यस अनुसार भएन ।

रुबी भन्नुहुन्छ, ‘हाम्रो कुनै ठूलो माग नै होइन । एक जना महिलाको शरीर बन्धक भएर हत्या भएको छ । उहाँको सम्पत्ति हिनामिना भएको छ । त्यो मुद्दा प्रहरी र सरकारी वकिलले थन्क्याएर राखेको छ त्यो मुद्दा अदालत पुगोस् र अदालतबाट न्याय होस् भन्ने नै हो ।’

प्रहरी र सरकारी वकिलको कार्यालयको मुद्दा नचलाउने उद्देश्य रहेको पनि उहाँको आरोप छ । उहाँ भन्नुहुन्छ, ‘पर्याप्त प्रमाण हुँदाहुँदै पनि मुद्दा नचलाउनु भनेको अदालतमा मुद्दा पुग्यो भने आरोपी सबै जेल जान्छन् भन्ने नै हो ।’

प्रहरीको प्रतिवेदनमा बादशाह कुर्मीलाई मुख्य अभियुक्त ठहर गरिएको र मुख्य दोषी पनि पाइएको उहाँको भनाइ छ । जस्ले भर्खरै सम्पन्न प्रदेश सभा चुनावमा नेपाली कांग्रेसकोतर्फबाट बाँके क्षेत्र नम्बर ३ को प्रदेश सभा (ख) बाट प्रत्यक्ष निर्वाचित भइ शपथ ग्रहणको तयारीमा हुनुहुन्छ । कुर्मीलाई शपथ ग्रहण नगराउनका लागि उहाँहरुले प्रदेशमा उजुरी पनि गरिसक्नु भएको छ ।

उहाँ भन्नुहुन्छ, ‘अदालतले पक्राउ पुर्जी जारी गरेको र किटानी जाहेरी परेको अभियुक्तले सांसदकारुपमा शपथ ग्रहण गरेर जिम्मेवार पदमा बसे भने भोलि समुदायले उसलाई कसरी लिने र समुदायले कसरी सुरक्षित महसुस गर्ने र कसरी स्वीकार गर्ने भन्ने प्रमुख प्रश्न हो ।’

उहाँहरुले कुर्मीको शपथ ग्रहण रोक्नका लागि प्रदेश प्रमुखलाई निवेदन दिइसक्नु भएको छ । तत्कालका लागि सपथ रोक्ने र मुद्दालाई अदालत पुर्याउने भन्ने उहाँहरुको निवेदनमा उल्लेख छ । र, यस सन्दर्भमा प्रदेश सरकारले गृह मन्त्रालयलाई पत्राचार पनि गरिसकेको छ ।

खान कुर्मीको शपथ रोकिनेमा आशावादी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘उहाँको शपथ पक्कै रोकिनुपर्ने हो । किनकि स्वयम् सरकारले गठन गरेको छानबिन समितिले मुख्य दोषी भनिसकेपछि सरकारलाई अरु प्रमाणको आवश्यक्ता नपर्ला । र, रोकिन्छ भन्ने आशा गरौँ ।’

अहिले उहाँहरु काठमाण्डौ आएर धर्ना दिनुको मुख्य कारण भनेकै निर्मला कुर्मी बेपत्ता प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग हो । र, सरकारले गठन गरेको छानबिन समितिले मुख्य दोषी ठहर गरेको बादशाह कुर्मीलाई सांसदको रुपमा शपथ ग्रहण नभइ अदालतमा मुद्दा चलाइ कारबाही गरियोस् भन्ने रहेको छ । र, समितिले दोषी ठहर गरेको मान्छेलाई कारबाही नभएसम्म आन्दोलन नरोकिने पनि उहाँको भनाइ छ ।

खानका अनुसार अहिलेसम्म गृह मन्त्रालय वा यस मुद्दासँग सम्बन्धित तथा अन्य कुनै सरोकारवाला निकायहरुसँग उहाँहरुको कुनै किसिमको औपचारिक वा अनौपचारिक कुराकानी भएको छैन ।

तर, पनि अहिले सरकार फेरिएर गृहमन्त्री पनि नयाँ भएको र फरक पृष्ठभूमिको भएका कारण उहाँहरु दोषीउपर कारबाही हुनेमा आशावादी भएर काठमाण्डौ आएको बताउनुहुन्छ रुबी । उहाँ भन्नुहुन्छ, ‘पहिलेको भन्दा गृहमन्त्रीज्यू एकदमै फरक हुनुहुन्छ र उहाँले हामीलाई न्याय दिनुहुन्छ भन्नेमा हामी आशावादी छौँ । हाम्रो अपेक्षा पूरा हुन्छ हामीले न्याय पाउँछौँ भन्ने लागिरहेको छ ।’

के थियो निर्मला कुर्मी घटना ?

नेपालगञ्ज उपमहानगरपालिका – १७ परस्परकी निर्मला कुर्मीका श्रीमानको २०६६ सालमा निधन भयो । निधनपछि दुई छोराहरु १८ वर्षे रामसागर र १४ वर्षे सुरेशसँग निर्मला बस्दै आउनु भएको थियो । श्रीमानको निधनपछि उहाँको घर र साढे चार बिघा जमिनमाथि गिरोहले आँखा लगायो र जग्गा हडप्न सक्रिय बन्यो ।

२०६६ मंसिरमा १० दिनको अन्तरमै उनका दुई छोरा १८ वर्षे रामसागर र १४ वर्षे सुरेशको शंकास्पद रुपमा ज्यान गयो । त्यसबारे कहीँ कतै उजुरी पनि परेन र छानबिन पनि भएन । त्यसपछि संविधानसभा सदस्यसमेत भइसकेका छिमेकी बादशाह कुर्मीले निर्मलाको घर, जग्गा हडप्ने षडयन्त्र बुन्दै जग्गाको कागज र नागरिकता लिएको बताइन्छ । यसका विरुद्ध निर्मलाले ०६८ असोज ३० मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभयो । तर, २०७५ सालपछि भने निर्मला नै बेपत्ता हुनुभयो ।

उहाँका बारेमा महिला अधिकारकर्मी र गाउँलेले खोजी गर्दा प्रहरीले निर्मलाको २०७६ चैत १४ मा भारतमा शंकास्पद मृत्यु भएको सूचना दिने गरेको छ । यही खोजबिनको क्रममा अधिकारकर्मी खान छिमेकी बादशाह कुर्मीले नै सम्पत्ति हडप्न निर्मलाको अपहरण र शरीर बन्धक बनाइ हत्या गरेको बताउनुहुन्छ ।

गएको वर्ष गठन भएको सरकारी छानबिन समितिले पनि बादशाहसहित आठ जनामाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । त्यही आधारमा प्रहरीले कुर्मीसहित ८ जनाविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । अन्य सात जना पक्राउ परेर अदालती प्रक्रियामा नै नगइ छुटेका छन् भने मुख्य अभियुक्त भनिएका कुर्मी भने पक्राउ परेका छैनन् । कुर्मी बाँके क्षेत्र नम्बर ३ को प्रदेश सभा (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् र अहिले शपथ ग्रहणको तयारीमा लागेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया