नेपाली कागज : माग उच्च, कच्चा पदार्थ लाेक्ताकाे अभावमा उत्पादन कम

 पुस १७, २०७९ आइतबार १४:७:२४ | किरण लोहनी
unn.prixa.net

गोरखा - सङ्खुवासभाको सिलीचोङ गाउँपालिका स्थायी ठेगाना भएका ५१ वर्षका पासाङ नीमा शेर्पा नेपाली हाते कागज उत्पादनमा जोडिएको झण्डै ३ दशक भयो । सुरुमा अरुकाे उद्योगमा काम गरेर सीप सिकेपछि उहाँ कागज उद्योगको कामकै सिलसिलामा देशका विभिन्न ठाऊँमा पुग्नुभयो । उहाँ हाते कागज उद्योगमा काम गर्ने क्रममा गोरखा आइपुग्नुभयो ।

१५ वर्षसम्म यहाँका अन्य उद्योगमा काम गरेपछि उहाँले ५ वर्षदेखि गोरखा मनकामना नेपाली हाते कागज उद्योग दर्ता गरी सञ्चालन गर्दै आउनुभएको छ । नेपाली कागज उत्पादनमा ५ वर्षकाे अनुभव बटुल्नु भएका शेर्पा भन्नुहुन्छ'नेपाली हाते कागजको माग उच्च छ, तर माग अनुसारको उत्पादन दिन सकिएको छैन ।'

यसको प्रमुख कारण हो, यस्तो कागज उत्पादनका लागि चाहिने प्रमुख कच्चा पदार्थ लोक्ताको अभाव । ‘वनमा लोक्ता नभएको पनि होइन, जति चाहिए पनि छ, तर सङ्कलन गरेर उद्योगसम्म ल्याउने मान्छे पाइँदैन’ पासाङले भन्नुभयो, ‘मैले एक किलो लोक्ता डेढ सय रुपैयाँमा किन्छु, दिनभरि लोक्ता निकाल्नेले एकदिनमै पन्ध्र सयदेखि दुई हजार रुपैयाँसम्म कमाउन सक्छ, तर वनमा लोक्ता खोज्न जाने मान्छेनै भएनन् ।’

लोक्ता सङ्कलनका लागि आवश्यक राजस्व तिरेर सम्बन्धित वन कार्यालयबाट सङ्कलन पुर्जी लिनुपर्छ अनि मात्रै तोकिएको वन क्षेत्रमा गएर सङ्कलन गर्न पाइन्छ । सङ्कलन भएको लोक्ताको वन कार्यालयकै अधिकारीहरुले परिमाण यकिन गरी राजस्व तिर्न लगाउँछन् अनि ओसारपसारका लागि छुट पुर्जी दिन्छन् । लोक्ता विशेषगरी पहाडी तथा हिमाली जिल्लाका महाभारत शृङ्खला र त्यसको उत्तरी भागका पाँच हजार फिटदेखि १० हजार फिटसम्मको उचाइका चिसो, ओसिलो ठाउँ र अरु रुखको छहारी भएको ठाउँमा पाइन्छ । 

पासाङको हाते कागज उद्योगमा गोरखाको लाप्राक, लापु, मान्बु, खरिबोट लगायत ठाऊँमा सङ्कलन गरिएको लोक्ता आइपुग्छ । वनमा आवश्यकता अनुसारको लोक्ता प्रशस्तै छ,  सङ्कलनको सरकारी प्रक्रिया त्यति झन्झटिलो पनि छैन अनि माग उच्च छ र कमाइ पनि सन्तोषजनकनै हुने देखिन्छ ।

पासाङ भन्नुहुन्छ, ‘सङ्कलन गर्न अलि गाह्रो हुन्छ, रुख ढालेर त्यसको बाहिरको बोक्रा ताछेर फालेपछि भित्रको भाग मात्रै काम लाग्छ, बोक्रा ताछ्दा खार आउँछ, जिऊ सुन्निने पनि हुन सक्छ ।’ यस बाहेक पछिल्लो समय लोक्ता सङ्कलनमा रुचि राख्नेहरुको संख्या कम हुँदै गएको उहाँको अनुभव छ । ‘गाऊँमा युवाहरु धेरै छैनन्, सबैलाई छिटोछिटो पैसा आउने सजिलो सजिलो काम चाहिएको जस्तो लाग्छ’ पासाङले भन्नुभयो । 

लोक्ता सङ्कलन गरेर उद्योगमा ल्याइसकेपछि पनि कागज बनाउने चरणसम्म अनेकौँ प्रक्रिया पूरा गर्नुपर्छ । घाममा राम्रोसँग सुकेको लोक्तालाई चिसो पानीमा २४ घण्टासम्म भिजाउनु पर्छ अनि कास्टिङ सोडा हालेर मध्यम तापमा पकाउनुपर्छ । पाकेको लोक्तालाई चिसो पानीले पखालेर फेरि मेसिनमा घोलेर लेदो बनाइसकेपछि पानीमा फिटेर जाली सहितको फ्रेममा हालेर घाममा सुकाएपछि बल्ल प्रसाेधित कागज बन्छ । ‘चर्को घाम लाग्ने गर्मीयामको बेला ३/४ घण्टा सुकाउँदा पुग्छ, हिजो आज चिसो छ, दिनभरि सुकाउनुपर्छ’ पासाङले भन्नुभयो, ‘हामी अर्डर अनुसार १० ग्रामदेखि ४० ग्रामसम्मको कागज निकाल्छौँ ।’ १० ग्रामको एक पाना कागजको १० रुपैयाँ र ४० ग्रामको एक पाना कागजको ४० रुपैयाँमा बिक्री हुन्छ । गर्मीयाममा दिनमा १ हजार ६ सय पानासम्म र जाडोयाममा ८ सय पानासम्म कागज उत्पादन हुने उहाँले जानकारी दिनुभयो । 

कच्चा पदार्थको अभाव नभएमा हिउँदयाममा मासिक करिब ५ लाख र गर्मीयाममा ८ देखि १० लाख रुपैयाँसम्मको कागज उत्पादन गर्न सकिने पासाङको अनुभव छ । गोरखा नगरपालिका ६ को नयाँबस्तीमा ८ रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरिएको उहाँको उद्योगमा परिवारका ३ जनासहित १० जना ‍काम गर्छन् । शुद्ध लोक्ताबाट बन्ने कागज विशेषगरी जापानले जापानी येन अर्थात् जापानी पैसा बनाउन प्रयोग गरिन्छ । यसबाहेक थाङ्का चित्र बनाउन, कार्ड छाप्न, धूप बेर्ने कागजको रुपमा, डायरी तथा नोटबुक बनाउन र अन्य कानुनी लेखापढीको काममा नेपाली हाते कागज प्रयोग हुने गरेको छ ।

हाते कागज जापान, अमेरिका, थाइल्यान्ड लगायतका देशमा निर्यात हुने गरेको छ । ‘बजारको कुनै अभाव छैन, महिनाको एक करोडकै कागज बनाउन सके पनि बिक्छ तर हामीसँग तर नेपाली हाते कागज बनाउन प्रयोग हुने मुख्य कच्चा पदार्थ लोक्ताकै अभाव छ ' पासाङ नीमा शेर्पाले भन्नुभयाे । माग अनुसारको उत्पादन दिन नसकिएको उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया