पारिश्रमिकको विषयले नेपाल टी–२० लिगमा झमेला

 पुस १९, २०७९ मंगलबार १८:१३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) को बहुप्रतिक्षित प्रतियोगिता नेपाल टी–२० लिग काठमाण्डौमा चलिरहेको छ । लिगमा विदेशी खेलाडीदेखि नेपाली राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीले सहभागिता जनाएका छन् । ३६ खेलमध्येको २१ खेलमा खेलाडीले पारिश्रमिकको माग राख्दै विरोध गरेपछि खेल निर्धारित समयभन्दा केही घण्टा पछि धकेलियो । पारिश्रमिकदेखि आयोजना र फिक्सिङसम्म भएको चर्चा प्रतियोगितामा चलिरहेको बेला काठमाण्डौ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका कुनै खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका छन् । 

पारिश्रमिको विषयलाई उठाउँदै खेलाडी विरोधमा उत्रिएपछि आज मङ्गलवार तय भएको काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्सबीचको खेल सुरु हुनुअघि खेलाडीहरूले विरोध गरे । उनीहरूले पारिश्रमिक नपाएको भन्दै विरोध गरेपछि निर्धारित समयमा खेल सुरु हुन सकेको थिएन । अभिभावक संस्था नेपाल क्रिकेट सङ्घ (क्यान) ले पारिश्रमिक सुनिश्चिताको जिम्मा लिएपछि खेलाडी खेल्न राजी भएका थिए । 

क्यानको बहुप्रतिक्षित प्रतियोगिता कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा चलिरहँदा नेपाल टी–२० लिगमा धेरै प्रश्न उब्जिएका छन् । विवादपछि सुरु भएको खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका सदस्यसमेत रहेका काठमाण्डौ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका कुनै खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताए । मल्लले फिक्सिङ नै भएको भन्न नसक्ने बताउँदै कुनै ठाउँबाट टिमको एक खेलाडीमा प्रस्ताव आएको तर त्यो विषयमा आईसीसीको एन्टी करप्सन युनिट (एसीयू) लाई जानकारी गराएको बताए । 

सञ्चालनमा आइरहेका सबै फ्रेन्चाइज लिगलाई बन्द गर्दै क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सलाई आयोजनाको जिम्मा दिएको लिगमा पारिश्रमिक विषयमा पनि खेलाडीहरूले मैदानबाटै माग राखेका छन् । मङ्गलवारको खेल सुरु हुनुअघि क्यान पदाधिकारीले खेलाडीलाई आश्वासन दिँदै मैदान प्रवेश गर्न आग्रह गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्लले टिम व्यवस्थापन र आयोजकसमक्ष पारिश्रमिकको माग क्यानसँग राखेको र भोलि बुधवारसम्म पारिश्रमिक दिलाउने आश्वासनपछि सहमति भएको बताए । 

नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका विराटनगर सुपर किङ्ग्सका कप्तान रोहितकुमार पौडेलले पनि आयोजक टिमसँग पारिश्रमिकको विषयमा कुराकानी हुन नसकेपछि क्यानसँग माग राखेको बताए । प्रतियोगिताबापतको परिश्रमिकको विषयमा खेलाडीले मैदानमा नै माग राख्नुले खेलाडीको क्रिकेट खेल्ने भावनामा ठेस लाग्ने उनले बताए । यस्तो समस्या आउने खेलअघि नै समाधान हुने उनको विश्वास छ । 

खेलअघि खेलाडीले मैदानबाटै पारिश्रमिकको माग गर्नुले क्यानले आयोजना गरेको लिगको फितलोपन उजागर भएको छ । साथै आयोजकको जिम्मेवारी के कति हो भन्ने पनि प्रश्न उब्जिएको छ । आयोजनाको जिम्मा सेभेन थ्री स्पोट्र्सलाई दिने/नदिने भन्ने विषयमा क्यानभित्रै खेमा बनिरहेको छ । विदेशी खेलाडी असन्तुष्ट हुँदै तालिकाअघि नै स्वदेश फर्किनु, परिश्रमिक सहमतिअनुसार उपलब्ध नहुनले प्रतियोगिताबारे धेरै प्रश्न उठ्न थालेका हुन् । पारिश्रमिकको विषय सहभागी क्लबका मालिक र क्यानले समयमा नै समाधान नगरे थप पेचिलो हुने निश्चत छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया