बुरुन्डीमा हैजाको प्रकोप घोषणा : सडकमा पकाइएका खाद्यवस्तु बिक्रीमा रोक

 पुस २०, २०७९ बुधबार ६:५३:३३ | एजेन्सी
unn.prixa.net

बुरुन्डीमा हैजाकाे प्रकोप घोषणा गरिएको छ । बुरुन्डीका जनस्वास्थ्य नियन्त्रण मन्त्री सिल्वी न्जेइमानाले पूर्वी अफ्रिकी देशको वाणिज्य राजधानीका रुपमा रहेको बुजुम्बुरामा हैजाको प्रकोप घोषणा गर्नुभएको हो ।

अघिल्लो महिना बुजुम्बुराको उत्तरी क्षेत्रमा पखाला र बान्ताका लक्षणहरूसहित नौ जना व्यक्तिमा हैजा पुष्टि भएको थियो । त्यसैगरी अर्को मुताकुरामा पनि केही व्यक्तिहरूमा हैजा देखिएको र सङ्क्रमणका घटनाहरू बढ्दै गएपछि रोकथामको प्रयास गरिएको थियो ।

मन्त्री न्जेइमानाका अनुसार हैजा संक्रमित घरपरिवारलाई कीटाणुरहित गर्ने, महामारी फैलिने जोखिमबारे समुदायलाई सचेत गराउने र समुदायमा रहेका अन्य हैजाका बिरामीको खोजी गर्ने काम हुँदै आएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएको डिसेम्बर २६ देखि ३१ सम्म बुजुम्बुरा र आसपासका क्षेत्रमा परेको पानीले शौचालय भरिएपछि निस्केको फोहोरका कारण हैजाको प्रकोप देखापरेको अनुमान छ । बुरुन्डीको स्वास्थ्य मन्त्रालयले रोगको प्रकोपपछि बुजुम्बुरामा सडकमा पकाइएको र कच्चा खाद्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया