श्रीलङ्कासँगको दोस्रो टी–२० क्रिकेटमा भारत १६ रनले पराजित : शानकाको कीर्तिमानी ब्याटिङ

 पुस २२, २०७९ शुक्रबार ६:५५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रीलङ्काले दोस्रो टी–२० क्रिकेटमा घरेलु टोली भारतलाई हराएको छ । गएराति भएको खेलमा पाहुना टोली श्रीलङ्काले भारतलाई १६ रनले पराजित गरेको हो ।

यो जितसँगै तीन खेलको टी–२० शृङ्खला एक/एकको बराबरी भएको छ । यो खेलमा श्रीलङ्काका कप्तान दाशुन शानकाले सबैभन्दा कम बलमा अर्धशतक पूरा गरेका छन् । उनले श्रीलङ्का पूर्व कप्तान कुमार साङ्गकारा र महेला जयवर्धनलेको कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका हुन् ।

पुणेमा श्रीलङ्काले दिएको २ सय ७ रनको लक्ष्य पाएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो । भारतका अक्षर पटेलले ६५ रन तथा सूर्यकुमार यादवले ५१ रनको अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

टी–२० अन्तर्राष्ट्रिय खेलमा पटेलको करिअरको पहिलो अर्धशतक समेत हो । श्रीलङ्काका कप्तान शानका, दिल्सान मधुशङ्का र कुसुन रन्जिथाले समान २/२ तथा वानिन्दु हशरङ्गा र चमिका करुणरत्नेले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

श्रीलङ्काका शानकाले २२ बलमा ५६ रनको अर्धशतक बनाए । त्यस्तै कुशल मेन्डिसले पनि ५२ रनको अर्धशतकीय पारी खेले । भारतका उमरान मल्लिकले ३ तथा अक्षर पटेलले २ विकेट लिए । पहिलो खेलमा भारत २ रनले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल भोलि राजकोटमा हुनेछ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया