म्यानमारको सेनाद्वारा भारतको सीमा नजिक जातीय विद्रोही समूहको शिविरमा हवाई आक्रमण

 पुस २८, २०७९ बिहिबार ६:५३:५३ | एजेन्सी
unn.prixa.net

म्यानमारको सैनिक सरकार (जुन्ता) ले भारतसँगको सीमा नजिक एक जातीय विद्रोही समूहको शिविरमा हवाई आक्रमण गरेको विद्रोही समूह र स्थानीय सञ्चार माध्यमले दाबी गरेका छन् ।

पश्चिमी क्षेत्रमा क्रिश्चियन चिन अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने दाबी गर्ने ‘चिन नेसनल फ्रन्ट (सीएनएफ) को मुख्यालयमा भएको आक्रमणमा पाँच लडाकु मारिएका सीएनएफका प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

सीएनएफका प्रवक्ता सलाई तेतनीले सरकार पक्षले गरेको हवाई आक्रमणमा सात वटा विस्फोटक पदार्थ खसालेको दाबी समेत गर्नुभएको छ । सीएनएफले गएको वर्ष मे मा आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को छायाँ सरकारसँग सहकार्यका लागि सम्झौतामा हस्ताक्षर गरेको थियो ।

म्यानमारमा सन् २०२१ को फेब्रुअरीमा सेनाले 'कु' गरी सत्ता हातमा लिएपछि विरोध हुँदै आएको छ । सेनाले जननिर्वाचित नेत्री सुकीसहित अन्य नेता तथा सयौँ नागरिकलाई पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया