कोरला नाकामा भन्सार कार्यालय स्थापना गर्ने जग्गा सरकारलाई प्राप्त भइसक्यो : अध्यक्ष तिमिल्सिना

 पुस २८, २०७९ बिहिबार २०:२१:१८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिमेकी देश चीनसँग जोडिएको मुस्ताङको कोरला नाका खुलाउन पहल भइरहेको बताउनुभएको छ । सातौँ म्याग्दी महोत्सवको आज बिहीवार बेनीमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

अध्यक्ष तिमिल्सिनाले काेरला नाकामा भन्सार कार्यालय स्थापनाका लागि सरकारकाे नाममा जग्गा प्राप्त भएकाले अब संरचना निर्माणकाे काम अगाडि बढ्ने बताउनुभयाे । यसका लागि सरकारदेखि सम्बन्धितकाे ध्यानाकर्षण गराएकाे उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘माथिल्लाे मुस्ताङका नागरिकले काेरला नाका खुल्यो भने व्यापार हुन्थ्यो भन्ने माग गरेका छन् । याे चीन र भारतसँग त्रिदेशीय व्यापार गर्ने महत्त्वपूर्ण नाका हो । त्यस कारण यसलाई निर्माण गर्नुपर्छ भनेर म त्यहाँ पटक–पटक पुगेर फर्केर आएपछि नेपाल सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउँदै आएको छु । कोरला नाकामा जग्गा प्राप्तिको काम सकिएको छ । अर्थात् भन्सारका लागि चाहिने जग्गा सरकारको नाममा आएर भन्सारको काम गर्न पाइने भएको छ । चीनतर्फ भन्सार निर्माण भएर अरू धेरै विस्तार भइरहेको छ । मैले भर्खरै त्यहाँ भ्रमण गरेर आएपछि अहिलेका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर त्यो कुरा सविस्तार राखेको छु । अब आउने बजेटमा कोरला नाका सञ्चालन गर्नका लागि भन्सार कार्यालय स्थापना गर्ने र त्यसको पूर्वाधार खडा गर्नुपर्छ भनेर प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएको छु । यो सबैको लागि हो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुखलाई पनि सँगै यहाँबाट लिएर माथि गएर सँगै आएको छु । उहाँलाई सडक छिटो बनाउनुस् भनेर के सहयोग चाहिन्छ, मेरो तर्फदेखि आवश्यक सबै सहजीकरण गर्छु भनेको छु ।’

यसैबीच अध्यक्ष तिमिल्सिनाले महाेत्सवले स्थानीय कृषि उत्पादनको प्रचारप्रसारसहित पर्यटन प्रवर्द्धनमा महतपूर्ण सहयोग पुर्‍याउने हुँदा यसबाट प्रत्यक्ष र अप्रत्यक्षरूपमा फाइदा पुग्ने बताउनुभयो । उहाँले महाेत्सवबाट उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव सबैको भएकाले अब आर्थिक समृद्धि हासिल गर्नका लागि विदेशिने मात्र नभइ स्वदेशमै रोजगारको अवसर सिर्जना गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । 

उहाँले 'समृद्ध नेपाल र सुखी नेपाली' को अभियानलाई साकार पार्नका लागि सुशासन, न्याय, पारदर्शिता र भ्रष्टाचाररहित समाज निर्माण गर्नुपर्ने बताउनुभयो । विकास र समृद्धिमार्फत देशको विकास गर्न अहिलेको अवस्थामा नयाँ जनादेश प्राप्त भएकाले अब सबै मिलेर देश विकासमा लाग्नुपर्नेमा उहाँकाे जाेड छ ।    

महोत्सवको अवसरमा जिल्लामा रहेकाे विभिन्न जातीय तथा अन्य स्घसंस्थाहरूले आ–आफ्नो भेषभूषमा सजिएर झाँकीसहित बेनी बजारमा र्‍याली प्रदर्शन गरेका थिए । आउँदो माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा लोपोन्मुख कला, संस्कृतिको प्रस्तुतिका साथै स्थानीय कृषि उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण पनि हुनेछ । 

'उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौँ' भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा सातौँ म्याग्दी महोत्सव एवम् माघे सङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला २०७९ आयोजना गरिएको हो । हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौँ संस्करणको महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण पछि धकेलिएर यस वर्ष आयोजना गरिएको हो ।   

म्याग्दीको बेनीमा परम्परागतरूपमा लाग्दै आइरहेको माघे सङ्क्रान्ति मेलालाई जगाउन माघी पर्वको पूर्वसन्ध्याको अवसर पारेर महोत्सव आयोजना गरिएको हाे । स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री–वितरण, कला, संस्कृति तथा भेषभूषाको जगेर्नाका साथै म्याग्दीका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।   

महोत्सव स्थलमा व्यापारिक र अन्य गरी दुई सय ५८ वटा स्टल रहेका छन् । महाेत्सवमा फोटो र वृत्तचित्रसमेत प्रदर्शनी गरिएको छ । यसैगरी महोत्सवको आकर्षणतर्फ कालीगण्डकी नदीमा र्‍याफ्टिङ, लभ्ली हिलसम्म घोडा सफारी, धौलागिरि बेस क्याम्पसम्म हेलिकप्टरमा सयर, खुला लोकदोहोरी तथा रत्यौली गीत प्रतियोगिता, जातजाति, जनजातिका झाँकी प्रदर्शनी र पालिकास्तरीय पुर्ख्याैली नाच प्रतियोगितालगायत रहेको सङ्घका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।   

म्याग्दीको बेनीमा २०५७ सालदेखि माघे सङ्क्रान्ति मेला लाग्न सुरु गरेकोमा २०६० सालदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा म्याग्दी महोत्सव सुरु गरिएको थियो । यसअघि २०६०, २०६३, २०६५, २०६८, २०७१ र २०७४ सालमा म्याग्दी महोत्सव तथा २०५८, २०५९, २०६२, २०६४, २०६६, २०६७, २०६९, २०७०, २०७२ र २०७३ सालमा सडक खाना महोत्सव एवम् माघे सङ्क्रान्ति मेला भएकाे थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया