आज माघे सङ्क्रान्ति र माघी पर्व, ठाउँठाउँमा मेला महोत्सवको रौनक

 माघ १, २०७९ आइतबार ६:३९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् ।

हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ लगायतका जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् । माघे सङ्क्रान्ति र माघी पर्वको अवसरमा काठमाण्डौ उपत्यकासहित ठाउँठाउँमा मेला महोत्सव भएको छ । सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा मेला लाग्छ । यी ठाउँमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । 

पश्चिम तराईका थारू समुदायमा भने माघीको रौनक छाएको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । थारु समुदायमा गएराति जाग्राम बसेर भजन कीर्तन गर्ने र आज बिहानै नजिकैको खोला नदीमा गइ नुहाउने गरिन्छ । नुहाएपछि आफूभन्दा ठूला मान्यजनसँग आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

थारू समुदायले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर अर्थात् गाउँको अगुवा, चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ । माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् । 

यस्तै तराईका कतिपय ठाउँमा भने आज माघ १ गतेलाई नहान अर्थात नुहाउने पर्वका रूपमा मनाइन्छ । आज  बिहानै तीर्थस्थलमा गइ स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ  ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । तरुल पुसको अन्तिम दिनमा पकाएर राखेर माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास पनि छ । 

यसैबीच  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक  समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि शुभकामना सन्देश दिँदै नेपालीको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्नुभएको छ । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया