राष्ट्रपति र गृहमन्त्रीद्वारा डाक्टर देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

 बैशाख २२, २०७५ शनिबार १४:३५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौँ, वैशाख २२ –  राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

पित्त थैलीको क्यान्सरबाट पीडित डाक्टर देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी शनिबार बाँसबारीस्थित न्यूरो अस्पताल पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले डाक्टर देवकोटासँग संक्षिप्त कुराकानी समेत गर्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । भेटका क्रममा राष्ट्रपति भण्डारीले देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । 

बेलायतको एक अस्पतालमा उपचारका लागि पुग्नुभएका डा देवकोटा केही दिनअघि मात्रै स्वदेश फर्कनुभएको हो । त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि शनिबा नै उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । बाँसबारीस्थित न्यूरो अस्पताल पुगेर उहाँले डाक्टर देवकोटाको स्वास्थ्य अवस्था बुझ्नुभएको थियो ।

भेटमा गृहमन्त्रीले डा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्षिप्त कुराकानीसमेत गर्नुभएको थियो । गृहमन्त्रीले डा देवकोटाको उपचारमा संलग्न चिकित्सहरुसँग उहाँको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो ।

–रासस

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया