बंगलादेशमा १९ जनालाई मृत्युदण्ड

 असोज २५, २०७५ बिहिबार ८:१५:३९ | रासस
unn.prixa.net

बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्‍यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए ।

तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो । रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ । पचास वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित जीवन व्यतित गरिरहेका छन् ।

भ्रष्टाचारको आरोपमा गएकाे फेब्रुअरीमा पाँच वर्षका लागि खालेदा जिया जेलमा थुनिएपछि निर्वासनबाटै रहमानले प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्व गरिरहेका छन् ।  “हामी फैसलाका लागि भगवानलाई धन्यवाद दिन्छौं,” कडा सुरक्षाबीच सरकारी वकील मोसाराफ होस्सेनले बताए । “हाम्रो आशा छ तारिक रहमानले पनि मृत्युदण्ड पाउने छन् ।”

होस्सेनले ढाकाको आक्रमणमा रहमानले नै मुख्य भूमिका निर्वाह गरेको दाबी गरे। उनले पूर्व गृहमन्त्रीसमेत दुईजना मन्त्री र पूर्व जासूसी संस्थाका दुईजना प्रमुखहरुमाथि पनि मृत्युदण्डको फैसला भएको बताए।

बंगलादेशमा प्रतिबन्धित हर्कत–उल जिहाद अल इस्लामी (हुजी) सँग आबद्ध १५ जना लडाकूलाई पनि आक्रमणका मुख्य दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला भएको होस्सैनले बताए । याे संस्थाका प्रमुखलाई गएकाे वर्ष अप्रिलमै मृत्युदण्ड दिइएको थियो ।

सरकारी अधिवक्ताहरुले पूर्वमन्त्री अब्दुस सलाम पिन्टुले हुजीका लडाकूलाई ग्रिनेड दिएको दाबी गरेका छन् । ग्रिनेड बिस्फोट हुँदा र्यालीमा हसिनाले सम्बोधन गरिरहेकी थिइन् । बिस्फोटबाट हसिनाको कानमा गम्भीर चोट लाग्नुका साथै पूर्व राष्ट्रपतिकी पत्नीको पनि मृत्यु भएको थियो ।

बंगलादेशमा मृत्युदण्डको सजाय दिइनु सामान्यझैं भएको छ । अझै पनि सयौं व्यक्ति मृत्युदण्डको पर्खाइमा छन् । सबैजसो मृत्युदण्ड झुण्ड्याएर दिने गरिएको छ । सन् २००७ यता नै कम्तीमा नौ जना इस्लामिक अतिवादी, पाँच जना मुलुकका सबैभन्दा ठूलो इस्लामिक पार्टीका नेता र एक जना वरिष्ट प्रतिपक्षी नेतालाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ ।

गृहमन्त्री असादुज्मान खानले अदालतको आदेश चित्तबुझ्दो भएको र त्यसले न्याय गरेको बताए । रहमानका वकील सनाउल्लाह मियाले रहमानका विरुद्ध लगाइएका आरोपहरु राजनीतिक प्रेरित भएको बताएका छन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया