रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनको दाबी

 माघ १९, २०७९ बिहिबार १२:२:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनले दाबी गरेको छ ।

युक्रेनका रक्षामन्त्रीले रुसले पुनः ठूलो आक्रमणको तयारी गरिरहेको र त्यो फेब्रुअरी २४ मा सुरु हुनसक्ने चेतावनी दिएका छन् । अलेक्सी रेज्निकोफले मस्कोले हजारौँ सेनालाई तयारी अवस्थामा राखेको र गएको वर्ष आक्रमण सुरु गरेको वार्षिकोत्सव मनाउन केही प्रयास गर्न सक्ने बताउनुभएको छ ।

युक्रेनको पूर्वी डोनबास क्षेत्रमा युद्ध केन्द्रित रहे पनि दक्षिणी सहर खेअरसनलाई युक्रेनले पुनः आफ्नो पकडमा लिएपछि पछिल्ला महिना युद्धको गति केही सुस्त बनेको छ । अमेरिकाको युद्ध अध्ययन संस्था आईएसडब्ल्यूले हालै मात्रै मस्कोले निर्णायक कदम चाल्न र पूर्वमा ठूलो आक्रमण गर्न सक्ने बताएको थियो ।

रेज्निकोफले प्रत्याक्रमणको लागि तयारी गर्ने समेत बताउनुभएको छ । युक्रेनी गुप्तचरहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई आउँदो वसन्तयामको अन्त्यअघि डोनबास कब्जा गर्न निर्देशन दिएको दाबी गरेसँगै रेज्निकोफले पछिल्लो टिप्पणी गर्नुभएको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गएरातिको सम्बोधनमा द्वन्द्वको स्थितिले आफ्नो सेनाको परीक्षण गरिरहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया