भेडा फारममा बास बसे कर्णालीका मुख्यमन्त्री

 असोज २५, २०७५ बिहिबार १६:९:४८ | नेत्र शाही

जुम्ला – कर्णाली प्रदेश सरकार विकासका सम्भावनाहरु खोज्दै आफनो जुम्ला आइपुगेको छ । 

प्रदेश सरकारले सुर्खेतबाट जुम्लासम्मको कर्णाली राजमार्ग अन्तरगत दैलेख कालिकोट हुँदै जुम्लामा विकास सम्भावनाका विभिन्न क्षेत्र र स्थानमा बहस, छलफल तथा अन्तरक्रिया गरेको छ ।  

यसै सिलसिलामा यहाँको आय आर्जनको प्रचुर सम्भावना रहेको भेडापालन क्षेत्रमा समेत प्रदेश सरकारले चासो देखाएको छ ।  यसै सिलसिलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र भौतिक पूर्वाधार तथा निर्माण मन्त्री खडक खत्रीसहित स्थानीय गाउँपालिकाको टोलीले एक रात गुठीचौर भेडा फारममा बिताएको हो । 

जुम्ला सदरमुकामबाट हिँडेर झण्डै एक दिन लाग्ने गुठीचौरमा यहाँको भेडा बाख्राको अनुसन्धानका लागि स्थापना गरिएको भेडाबाख्रा अनुसन्धान केन्द्रमा मन्त्रीहरुको बास भएपछि गुठीचौरको विकास सम्भावनालाई उठाउन प्रदेश सरकारले समेत चासो लिएको स्थानीयहरु बताउँछन् ।  यहाँको हिमाली क्षेत्रमा भेडापालनमा निकै सम्भावनाको क्षेत्र भएकाले भेडाबाख्र्र्रा अनुसन्धान केन्द्रलाई विशेष जोड दिनुपर्ने निर्देशन गरिएको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कृषि, पर्यटन क्षेत्रको उर्वरभूमि कर्णाली यसमा पनि गुठीचौर सम्भावनाको क्षेत्र भएको बताउनुभयो । उहाँले स्थानीय सरकारले कृषि र पर्यटनको हब बनाउनुपर्ने बताउनुभयो । यसैगरी भेडाबाख्रा केन्द्रले आवश्यक पूर्वाधारको विषयमा समेत लगानी आवश्यक रहेको विषयमा प्रदेश सरकारलाई अनुरोध गरेको छ । यस क्षेत्रको प्रमुख आयस्रोत भेडापालन भए पनि बिस्तारै कम हुँदै गएको छ । 

मुख्यमन्त्री शाहीसहित मन्त्रीहरुको टोलीले भेडाबाख्रा पालनको अवस्था, सम्भावना र चुनौतीको विषयमा अवलोकन गरेको मुुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो । प्रदेश सरकारले गुठीचौरको पर्यटन प्रवर्द्धन गर्न लागि एक करोड रुपैयाँसमेत विनियोजन गरेको छ । 

यसैगरी यहाँको गुठीचौर गाउँपालिकाले पर्यटकीय तथा कृषि सम्भावनाको लागि ५० लाख रुपैयाँ सम्भाव्यता अध्ययनका लागि विनियोजन गरी काम भैरहेको छ । 
भेडापालन अनुसन्धान केन्द्र गुठीचौरमा न्यूजिल्याण्डसहित विभिन्न देशहरुबाट समेत महंगा भेडाहरु ल्याएर यहाँको जातसँग क्रस गरेर वृद्धि गर्ने कामहरु भैरहेको छ । 
यसैगरी गुठीचौरको चौतर्फी विकासको सम्भाव्यता अवलोकन समेत भएको छ । गुठीचौर उपत्यकालाई ताल बनाएर बृहत बहुउद्देश्यीय जलविद्युत परियोजना निर्माण, कृषि, पर्यटन र त्यहाँबाट ढोरपाटन जोडन सकिने राजमार्गका लागि सम्भावना भएको विषयमा गुठीचौर गाउँपालिकाले अवलोकन गराएको छ । 

कर्णाली राजमार्गमार्फत कर्णालीको जुम्ला र कालिकोटको विकासका लागि प्रदेश सरकार नै तातेपछि यहाँका नागरिकमा केही आशा पलाएको छ । गाउँपालिकाले पनि हरेक दृष्टिकोणले गुठीचौरलाई अगाडि बढाउन प्रयास गरिरहेको प्रमुख प्रशासकीय  अधिकृत केशवराज शर्माले बताउनुभयो । 

मुख्यमन्त्री शाही र आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी यहाँका जनप्रतिनिधिसँग भेटघाट गरी जुम्लाबाट फर्किएका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया