टर्कीमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय नाघ्यो

 माघ २४, २०७९ मंगलबार ६:५०:१४ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

टर्कीमा हिजो गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय जनाभन्दा धेरै भएको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार टर्कीमा २ हजार ३ सय जना र सिरियामा १ हजार ४ सय ४४ जना गरी ३ हजार ७ सय ४४ जनाको ज्यान गएको पुष्टि भइसकेको रोयटर्सले जनाएको छ ।

टर्कीमा मात्रै १४ हजारभन्दा धेरै घाइतेको उपचार भइरहेको र सिरियामा पनि कयौँ घाइते भएका बीबीसीले जनाएको छ । टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

हिजो बिहानको भूकम्पपछि कयौँ परकम्प गइरहेका छन् । रातभर पनि खोजी तथा उद्धारको काम भएको छ । लाखौँ मानिस घरवारविहीन भएका छन् । विस्थापितहरुलाई कठ्याङ्ग्रिँदो चिसोले समस्या थपेको छ।

यसैबीच भूकम्पका कारण भत्किएका संरचनामा फसेकाहरुको खोजी तथा उद्धारका लागि विश्वका विभिन्न देशबाट विशेषज्ञ टोली पुग्ने क्रम सुरु भएको छ ।

अहिले धेरैले उद्धार विशेषज्ञ, डाक्टर, उपकरण र विशेष तालिम प्राप्त कुकुरहरू पठाइरहेका छन् । युरोपेली संघ, बेलायत, फ्रान्स, रुमेनिया, जर्मनी, हङ्गेरी, ग्रिस लगायतका देशबाट उद्धारटोली पुग्ने क्रम सुरु भएको छ ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विट गरेर आवश्यकता अनुसार सक्दो सहयोग उपलब्ध गराउन आफ्ना निकायलाई निर्देशन दिएको र आपत्कालीन विभागबाट सहयोग परिचालन सुरु भइसकेको जानकारी दिनुभएको छ । टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो । सन् १९९९ मा उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए ।  

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया