टर्की भूकम्प : स्वच्छ खाना र पानीको अभावमा स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी

 माघ २७, २०७९ शुक्रबार ६:३६:४१ | एजेन्सी
unn.prixa.net

सिरिया र टर्कीमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २० हजार जना नाघेको छ । गएको सोमवार टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २० हजार जना नाघेको बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये  झण्डै १५ हजार जना टर्कीका रहेका छन् । अझै पनि केही मानिस जीवितै भेटिने आसामा उद्धारकर्ताले कठ्याङ्ग्रिँदो रातमा समेत उद्धार कार्य जारी राखेका खबरमा उल्लेख छ ।

यसैबीच, सिरियाको  उत्तर पश्चिममा रहेको भूकम्प प्रभावित क्षेत्रमा पहिलोपटक राहत सामग्री पुगेको छ । विद्रोहीको कब्जामा रहेको उत्तर पश्चिम क्षेत्रमा संयुक्त राष्ट्र सङ्घले ४ वटा लरीमार्फत् राहत सामग्री पठाएको खबरमा उल्लेख छ । यसअघि विद्रोही समूहले अनुमति नदिँदा र सडक भत्किएका कारण भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न सकेको थिएन ।

टर्कीमा उद्धार र राहतको कामले केही तीव्रता पाए पनि सिरियामा भने अवस्था निकै दयनीय रहेको छ । यसैबीच, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले टर्की र सिरियामा भूकम्पपछिको स्वास्थ्य सङ्कटको चेतावनी दिएको छ । शवको उचित व्यवस्थापन नहुनु, स्वच्छ खाना र पानीको अभाव तथा माइनसमा रहेको तापक्रममा पनि उचित बासस्थान र ऊर्जा नहुँदा स्वास्थ्य सङ्कट आउन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको हो । गम्भीर सङ्कट आउनुअघि नै गास, बास र कपासको उचित व्यवस्थापनमा लाग्न डब्ल्यूएचओले सुझाव दिएको छ ।

यस्तै, डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयसस सिरिया जाँदै हुनुहुन्छ । उहाँले सिरियाको अत्यावश्यक स्वास्थ्य सेवालाई सहयोग पुर्याउन पहल आवश्यक रहेकाले आफू सिरियाको यात्रामा रहेको ट्विटमार्फत् उल्लेख गर्नुभएको छ । 

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया