लुम्बिनी प्रदेश सरकारमा सात जना मन्त्री थपिए, शपथ ग्रहण आज दिउँसो १ बजे

 माघ २९, २०७९ आइतबार ६:३५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले थप ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । पुस २७ गते विनाविभागीय मन्त्री बनेका दुई जनासहित ९ जनालाई मन्त्रालयको कार्य विभाजन भएको छ ।

माओवादी संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादीका इन्द्रजित थारु भौतिक पूर्वाधार विकासमन्त्री र एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री बन्नुभएको छ । यस्तै माओवादीकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्रीमा नियुक्त भएको छ ।

विनाविभागीय मन्त्री कृष्ण केसीले भौतिक पूर्वाधार मन्त्रालय नपाएपछि हिजो राजीनामा दिएको खबर सार्वजनिक भएको थियो । तर उहाँलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ । मन्त्रीहरुको शपथ ग्रहण आज दिउँसो १ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५, माओवादीले ३ तथा जनमत र राप्रपाले १–१ मन्त्रालय पाएका छन् । माओवादीबाट तुलाराम घर्ती सभामुख र राप्रपाबाट मेनुका खाण केसी उपसभामुख निर्वाचित भइसक्नुभएको छ । लुम्बिनी प्रदेशमा पुस २७ गते सरकार गठन भएको थियो । मुख्यमन्त्री गिरीले माघ ५ गते नै विश्वासको मत लिइसक्नुभएको छ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया